काठमाडौं,फागुन १२ । आज बिहीबारदेखि प्रतिनिधि सभामा एमसीसी सम्झौताबारे छलफल प्रारम्भ हुने भएको छ । एमसीसीमाथिको छलफललाई आजको बैठकको सम्भावित कार्यसूचीमा समावेश गरिसकेको छ । आज बस्ने कार्यव्यवस्था परामर्श समितिले सम्भावित कार्यसूचीलाई अन्तिम रूप दिनेछ ।
आज सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषय माथि बहस हुनेछ । सैद्धान्तिक बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन् । छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ । सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ । दफावार छलफलमा सम्झौताको दफावार रूपमा विस्तृत छलफल हुनेछ । दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ । प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत सदस्यद्वारा मात्र सम्झौता अनुमोदन हुनेछ ।
आजको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) को पक्षमा रहने निर्णय गरेको छ । त्यस्तै गठबन्धन भित्रकै जसपाका बाबुराम भट्टराई पक्षधर सांसदहरू,एकीकृत समाजवादीका प्रेम आले पक्षधर सांसदहरु समेत एमसीसी पास गर्ने पक्षमा देखिन्छन् । प्रधानमन्त्री देउवा आज कुनैपनि हालतमा एमसीसी पास गराइछाड्ने मनस्थितिका साथ अघि बढिरहेका कारण पनि एमसीसी आज नै पास हुनसक्ने अनुमान गरिएको छ ।




