नेपाल प्रहरीलाई अपराध नियन्त्रणमा एकपछि अर्को सफलता

`

     २०७८ फाल्गुन १० गते ३:५१

काठमाडौं, फागुन १० । नेपाल प्रहरी संसारभर नै अपराध नियन्त्रणमा अब्बल ठहरिएको छ । यसै सन्दर्भमा आज महानगरीय प्रहरी परिसर भक्तपुरले कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा चिनियाँ नागरिकसहित ८१ जनालाई सानोठिमी क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरूलाई घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले भारतमा रहेका व्यक्तिलाई लक्षित गरी ठगी गरेको प्रहरीले जनाएको छ। परिसरका प्रवक्ता राजु पाण्डेका अनुसार ‘उनीहरूले सुरुमा ऋण दिँदा रहेछन् छोटो समयको लागि, त्यसपछि धम्क्याएर त्यसको ब्याजसहित रकम असुलउपर गर्दा रहेछन्,’ प्रवक्ता पाण्डेले भने, ‘ठिमीको एउटा घर नै भाडामा लिएर उनीहरूले यस्तो कार्य गर्दै आएको भेटियो।’

बिभिन्न आपराधिक गतिबिधिहरुमा संलग्न उनीहरुले छोटो समयको लागि थोरैथोरै ऋण दिने र त्यसको ब्याजसहित असुल गर्दै आइरहेका थिए। सोही कार्यका लागि उनीहरूले कार्यालय चलाउँदै आएका थिए। यस्तो कारोबार गर्न उनीहरूले सामाजिक सञ्जालको प्रयोग गरेको प्रहरीले जनाएको छ।

यसअघि मध्यबानेश्वर क्षेत्रबाट पनि प्रहरीले चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका ८१ जनामाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?