काठमाडौँ, ३ फागुन । टेनिस खेलाडी नोभाक जोकोभिकले बाध्य पारिए आफूले टेनिस प्रतियोगिता त्याग्न तयार तर कोभिडविरुद्धको खोप नलगाउने बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै जोकोभिकले भने ‘हो, म त्यो मूल्य चुकाउन तयार छु’, खोपसम्बन्धी अडानका कारण विम्बल्डन र फ्रेन्च ओपनजस्ता प्रतियोगिता त्याग्न तयार हुनुहुन्छ भन्ने प्रश्नको उत्तर दिँदै उनले भने ।
अन्तर्वार्ताका क्रममा आफू खोप विरोधी नभएको पनि जोकोभिकले प्रस्ट पारेका छन् । ‘मैले खोप लगाउने कुराको कहिल्यै विरोध गर्दिनँ’, उनले भने, ‘तर तपाईले आफ्नो शरीरमा के लगाउने भनेर छान्ने स्वतन्त्रताको सँधै समर्थन गर्दै आएको छु ।’
जोकोभिकले निश्चित टेनिस प्रतियोगितामा सहभागी हुन अनिवार्य खोप लगाएको हुनुपर्ने नियम परिवर्तन हुने र अझै केही वर्ष खेल्ने आशा समेत गरेका छन् ।




