एक महिनामा मुद्रास्फीति २.१५ प्रतिशतले घट्यो

`

     २०७८ माघ २६ गते १०:५०

काठमाडौँ, २६ माघ । गत मंसिरमा बजार महँगी वार्षिक विन्दुगत आधारमा अधिकतम ७.८ प्रतिशतमाथि पुगेकोमा पुसमा ५.६५ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले एक महिनामा उपभोक्ता मुद्रास्फीति (बजार महँगी) २.१५ प्रतिशतले घटेको जनाएको हो ।

बैंकका अनुसार २०७८ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ ।

२०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।

उपभोक्ता मुद्रास्फीति क्षेत्रगत रुपमा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत रहेको बैंकले जनाएको छ । २०७७ पुसमा यी क्षेत्रहरुको मुद्रास्फीति क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?