काठमाडौँ, २१ माघ । चीनको राजधानी बेइजिङमा आजबाट २४औं संस्करणको विन्टर ओलम्पिक प्रारम्भ हुँदैछ । उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङसहित विश्वका २१ मुलुकका नेताहरू सहभागी हुँदैछन्।
यो ओलम्पिक्समा विश्वभरका ९१ देशका खेलाडीले सहभागिता जनाउँदैछन्। यसपटकको विन्टर ओलम्पिक्समा बायाथल, बब्स्लेडिङ, कर्लिङ, आइस हकी, लूस, स्केटिङ र स्की गरी सात विधामा प्रतिस्पर्धा हुन्छ।
चीनको बेइजिङ र हुबेईमा हुने ओलम्पिकमा नेपालको सहभागिता छैन। किनभने यस संस्करणको ओलम्पिकमा प्रतिस्पर्धा हुने विधाका लागि योग्य खेलाडी नेपालमा छैनन्।
स्की खेलाडी सफलराम श्रेष्ठले यसपटकको विन्टर ओलम्पिकमा सहभागिता जनाउने कोसिस गरे पनि सफल हुन सकेनन्। सफलरामको ओलम्पिक खेल्नका लागि न्यूनतम अंक पुग्न सकेन।
यद्यपी सफलरामलाई नेपाल ओलम्पिक कमिटीले विन्टर ओलम्पिकको तयारीका लागि भन्दै इटालीका लागि विदाई गरेको थियो।
सेतोपाटीले विन्टर ओलम्पिकमा नेपालको सहभागिता नहुने समाचार प्रकाशन गरेको केही दिनपछि सफलरामलाई ओलम्पिकको तयारीका लागि इटाली पठाएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
इटालीमा उनले एफआईएस च्याम्पियनसिपमा भाग लिएका थिए।
सफलराम नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठका छोरा हुन्। सन् २०१० देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेका सफलरामले विन्टर युथ ओलम्पिक खेलेका छन्।
सन् २०१८ मा दक्षिण कोरियामा आयोजना भएको गत संस्करणको विन्टर ओलम्पिकमा पनि योग्य खेलाडी नहुँदा नेपालले सहभागिता जनाएको थिएन।
त्यसअघि भने नेपालले लगातार चार पटक विन्टर ओलम्पिकमा सहभागिता जनाएको थियो।
नेपालले सन् २००२ को विन्टर ओलम्पिकदेखि प्रतिस्पर्धा गर्न थालेको थियो। तर नेपालले विन्टर ओलम्पिकमा पदक प्राप्त गर्न सकेको छैन ।
तेजवीर बुराले सन् १९२४ को विन्टर ओलम्पिकमा पदक पाएका थिए।
सन् १९२२ को सगरमाथा आरोहण दलमा समावेश तेजवीर बुरालाई सम्मानस्वरूप ओलम्पिक पदक प्रदान गरिएको थियो।




