काठमाडौँ, माघ २० । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले माघ महिनाभित्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा पूर्वराजाले हस्तक्षेप गरेको भन्ने विषय छानबिन गर्न तयार नभए फागुन ७ गते नयाँ दल गठन गर्ने अन्तिम तय।रीमा छन् । पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका छन् । थापा निकट नेताहरुका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनसँग माघभित्रै कुनै सहमति हुन नसके फागुनको पहिलो साता नै थापाले नयाँ राजनीतिक दलको घोषणा गर्ने छन् ।
कमल थापा निकट कतिपय युवा नेताहरुले फागुन ७ गते प्रजातन्त्र दिवसको असर पारेर नयाँ दलको घोषणा हुने फेसबुकमा लेखेका छन् । थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् । पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ ।
पूर्वराजाको भूमिकाबारे छानबिन गर्न अध्यक्ष लिङ्देन तयार छैनन् । त्यसैगरी अध्यक्ष लिङ्देनले केन्द्रीय समितिमा गरेको मनोनयन र जिम्मेवारी बाँडफाँट सन्तुलिन हुन नसकेको थापाको आरोप छ । लिङ्देन निर्वाचित भएपछि थापाले अध्यक्षलाई सम्बोधन गर्दै दुई पटक पत्र लेखिसकेका छन् । गत साता लेखेको पत्रमा थापाले पार्टीभित्र आफूलाई किनारामा पार्न थालिएको भन्दै त्यसले गम्भीर परिणाम ल्याउने चेतावनी दिएका थिए । दुबै पत्रमा थापाले पूर्व राजा र निर्मल निवासको चर्को आलोचना गरेका थिए । छानबिनको विषयलाई दोहोर्याएका थिए ।
महाधिवेशनमा पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिमा भने थापा प्यानलबाट प्रतिस्पर्धा गरेका नेताहरुले जितेका छन् । थापाको स्वभाव आवेशमा आएर निर्णय लिने र त्यसलाई निरन्तर रुपमा बचाउ गर्ने प्रकारको छ । चुनावमा हस्ताक्षेप भयो भनेर बोलिहाल्नु भयो । छानबिनको विषय छाड्न गाह्रो भएको छ,’ लिङ्देन निकट एक नेताले भने, ‘छानबिन गर्ने विषय अध्यक्षले स्वीकार्नु हुन्न ।’
‘हस्तक्षेप भएको विषयमा छानबिन हुनुपर्छ भन्ने थापाको प्रमुख माग रहेको छ । त्यसमा अध्यक्षले कसरी लिनुहुन्छ भन्न सक्दिन’ पौडेलले भने । महाधिवेशनको प्रतिस्पर्धाको विषयलाई लिएर दुबैबीच तिक्तता निकै बढेको राप्रपाका नेताहरु बताउँछन् ।
महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिएको दिनपछि लिङदेन र थापाबीच संवाद नै नभएको उद्धव पौडेल बताउँछन् । ‘अध्यक्षले रोस्पोन्स गर्ने बित्तिकै अहिलेको समस्या समाधान हुने मेरो बुझाई हो’ पौडेलले भने ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भने थापा लिङ्देनसँग संवादमा आउन नचाहेको बताउँछन् । ‘सपथग्रहण समारोह, पहिलो केन्द्रीय समितिको बैठकमा अध्यक्ष लिङ्देनले आफैले फोन गर्नु भएको हो’ श्रेष्ठले भने, ‘थापाले संवाद गर्नै चाहनु भएन । अहिले ट्रयाक टु संवाद रहेको छ ।’
पूर्व अध्यक्ष कमल थापाले राप्रपाको नेतृत्व गर्दा लिङ्देनले विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । प्रवक्ता श्रेष्ठले थापको माग पुरा गर्न पार्टी तयार नभएको संकेत गरेका छन् ।



