काठमाडौँ, २० माघ । शुक्रबारदेखि चीनको राजधानी बेइजिङमा विन्टर ओलम्पिक सुरू हुँदैछ।
सन् २००८ मा ग्रिष्मकालीन ओलम्पिक आयोजना गरेको चीनले १४ शितकालीन ओलम्पिक आयोजना गर्दैछ। ग्रिष्मकालीन ओलम्पिक आयोजना गर्दा संसारभरि आफूले हासिल गरेको वैभव देखाउन चीनले धेरै देशका नेताहरूलाई निम्त्याएको थियो।
त्यतिबेला विश्व मञ्चमा चीनका शत्रुभन्दा धेरै मित्र र सहानुभूति राख्नेहरू थिए।
ब्लुमवर्गका अनुसार यसपालि भने चीनले २१ देशका नेताहरूलाई मात्र बेइजिङमा निम्तो दिएको छ। संयुक्त राज्य अमेरिका र उसका सहयात्री पश्चिमा मुलुकहरूले सिन्जियाङमा उइगुरमाथि दमन भएको भन्दै मानव अधिकारको कुरा उठाएर बेइजिङ विन्टर ओलम्पिक कूटनीतिक हिसाबले बहिष्कार गर्ने भएका छन्।
कोरोनाभाइरसको महामारीका कारण चीनले पनि निकै प्रतिबन्धहरूका बीच विन्टर ओलम्पिक गर्न लागेको छ।
यो अवधिमा बेइजिङमा पनि उनले बिरलैमात्रै विदेशी नेताहरूलाई भेटेका छन्।
विन्टर ओलम्पिकमा सबैको ध्यान तान्ने पाहुना रूसी राष्ट्रपति भ्लादमिर पुटिन हुने भएका छन्। युक्रेनका विषयमा पछिल्लो समय पश्चिमाहरूसँग बढेको तनावका कारण संसारभरिको ध्यान अब रूसले युक्रेनमा के गर्छ भन्नेमा छ। यस्तो बेलामा अमेरिकासँग तिक्ततापूर्ण सम्बन्ध रहेको चीनका राष्ट्रपति चिनफिङसँग उनले भेट्दैछन्।
पुटिनबाहेक सीले केही छिमेकी, युरोपियन, अफ्रिकन र ल्याटिन अमेरिकी मुलुकका नेताहरूलाई स्वागत गर्न लागेका छन्।
दक्षिण एसियाबाट पाकिस्तानका नेताहरूमात्रै सहभागी हुँदैछन्। नेपालका प्रधानमन्त्रीलाई भने बेइजिङले निम्तो नै दिएको थिएन।
फेब्रुअरी २० मा सकिने विन्टर ओलम्पिकमा विश्वभरका ९१ देशले भाग लिँदैछन्। जसमा ७ खेलमा प्रतिस्पर्धा हुनेछ। ७ खेलको १०९ इभेन्टसमा विश्वभरका २८ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।




