माघमा नेप्सेले ३६०० को बिन्दु चुम्ने प्रबल सम्भावना 

`

     २०७८ पौष २८ गते ४:५५
काठमाडौँ, २८ पौष । विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूले माघ महिनामा पनि निक्षेपमा व्याज दर नबढाउने सहमति गरेका छन् । प्रणालीमा निक्षेपको व्याज दर बढाएर पनि नयाँ निक्षेप नथपिएपछि पुस महिनाको लागि वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनी सबैले व्याज दर नबढाउने सहमति गरेका थिए । साथै हाल बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलता पनि बढ्दै गइरहेको कारण माघ महिना भित्रै नेप्सेले अल्टाइम हाई ब्रेक गरी ३६ सय को बिन्दु समेत पार गर्न सक्ने धेरै सेयर विश्लेषकहरूको दाबी रही आएको छ ।
नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष एवम् कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले निक्षेपको व्याज बढाउने भन्दा पनि अघिल्लो महिनाकै व्याज नै कायम राख्दा बैक तथा वित्तीय संस्थाहरूलाई दिगो रूपमा फाइदा हुने मत राख्नुहुन्छ ।
पछिल्लो समय सरकारी खर्चहरू भइरहेको, पुन कर्जाको रकम निक्षेपमा गणना गर्न सुविधा पाएको एवम् बैङ्कहरूले पनि नियन्त्रित रूपमा कर्जा वितरण गरेकाले कम्फरटेबल पोजिसनमा देखिएको उनले बताए ।
बैङ्कहरूले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५८ प्रतिशत भन्दा बढीले कर्जा वृद्धि गरिसकेकाले आगामी दिनमा निक्षेप बढेको अनुपातमा मात्रै कर्जा विस्तार गरे पनि बाँकी वार्षिक लक्ष्य भेट्ने उनले आङ्कलन गरे ।
बैङ्कहरूले जस्तै विकास बैङ्कले पनि माघ महिनाको लागि निक्षेपमा व्याज नबढाउने लगभग सहमति गरिसकेका छन् ।
हाल सेयर बजार प्रति अर्थ मन्त्रालय सकारात्मक हुनु, नयाँ लगानी कर्ताहरूको उल्लेख्य वृद्धि, ठुला लगानीकर्ताहरूको प्रवेश, लाभांश सिजन, बैङ्क तथा वित्तीय संस्थाहरूको नाफामा उल्लेख्य वृद्धि, सबै क्षेत्रमा लकडाउनको प्रबल सम्भावना, लगानीकर्ताहरूको उच्च मनोबल लगायतका कारण नेप्सेले इतिहास रच्ने अत्यन्तै ठुलो सम्भावना रहेको जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?