ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत बढ्ने भएकाले माघमा पनि निक्षेपको ब्याजदर नबढाउने

`

     २०७८ पौष २८ गते ७:२८

काठमाडौँ, २८ पौष । ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत बढ्ने भएपछि बैंकहरुले माघमा पनि पुसकै ब्याजदरलाई लागू गर्नेगरी सूचना प्रकाशन गर्ने भएको छ । यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले औपचारिक निर्णय नै गरेको स्रोतले बताएको छ ।

राष्ट्र बैंकले गत असोज देखि ब्याजदरमा हस्तक्षेप गरेको हो । त्यसयता बैंक तथा वित्तीय संस्थाले दुई पटक (गत कात्तिक र मंसिरमा) अघिल्लो महिनाको तुलनामा १०र१० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए । पुसमा मंसिरकै ब्याजदरलाई निरन्तरता दिए भने माघका लागि पनि सोही ब्याजदरलाई नै प्रकाशित गर्ने निर्णय संघले गरेको हो ।

विकास बैंक र फाइनान्स कम्पनीले भने अझै निर्णय गरिसकेका छैनन् । यसबारेमा छलफल गर्न भन्दै डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बिहीबारका लागि बैठक डाकेको छ

निक्षेपको ब्याजदर स्थिर रहेपनि माघदेखि कर्जाको ब्याजदर भने बढ्ने भएको छ । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर बढेकाले बैंकहरुको लागत बढेको छ । यसले आधार ब्याजदर बढ्ने र सोही अनुरुप कर्जाको ब्याजदर पनि बढ्ने बैंकहरुको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?