काठमाडौँ, २६ पुस । चीनले आफ्नो मुलुकलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै श्रीलंकाका सांसद एवं पूर्वशिक्षा मन्त्रीले चिनियाँ राष्ट्रपतिलाई सनसनीपूर्ण पत्र लेखेका छन् ।
श्रीलंकाको सत्तारुढ दलका सांसद एवं पूर्वशिक्षा मन्त्री विजेयादसा राजापाक्षेले गत हप्ता चिनियाँ राष्ट्रपति सी जिनफिङलाई लेखेको पत्रमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतको ऋण एवं परियोजनाबाट आफ्नो मुलुक ऋण पासोमा परेको बताएका छन् ।
‘तपाईंको मुलुकले सुरुमा हाम्रो मुलुकलाई आर्थिक हिसाबले टाट पल्टाउन थाल्यो’ पत्रमा भनिएको छ,’सन् २००५ को नोभेम्बरमा महिन्दा राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएपछि हम्बनटोटा बन्दरगाह रोकियो र पछि नयाँ समझदारीसहित यसलाई पुनस् सुरु गरियो ।’
पत्रमा अन्य ऋणदाताबाट ०.०१ देखि १ प्रतिशत दरमा ऋण उपलब्ध हुने भएपछि महिन्दा राजापाक्षेले ६ प्रतिशत ब्याजदर चिनियाँ ऋण लिएको आरोप पनि लगाइएको छ ।
यसबाहेक, विजेयादसाले सीलाई लेखेको पत्रमा चीनमाथि कोभिड खोपका लागि थप रकम लिएको र गुणस्तरहीन मल आपूर्ति गरेको समेत आरोप लगाएका छन् ।




