काठमाडौँ, २५ पौष । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा मुख्य आर्थिक सूचकहरु लक्ष्यभित्रै राख्न चुनौती रहेको बताएका छन् ।
उनले आइतबार लेखा समितिको बैठकमा वर्तमान आर्थिक अवस्थाबारे आफ्नो धारणा राख्दै आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउन र मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै कायम राख्न चुनौती रहेको बताए । आयात बढेको र मुलुकभित्र उत्पादन घटेका कारण समेत यो लक्ष्य भेट्टाउन गाह्रो रहेको उनको भनाइ थियो ।
उनले कोरोना महामारीको प्रभावले विभिन्न उत्पादनमूलक तथा सेवा क्षेत्रमा परिरहेको प्रभाव र कृषि उपज विशेषगरी धान उत्पादनमा आएको कमी लगायत कारण अर्थतन्त्रका सूचक निर्धारित लक्ष्यमा कायम राख्न चुनौती रहेको बताएका हुन् ।




