हरेक वर्ष उद्योगमा भन्दा व्यापारमा लगानी बढ्दै, ५ वर्ष यता व्यापारमा ५७ गुणा बढी लगानी

`

     २०७८ पौष २२ गते ५:२५

काठमाडौँ, २२ पौष । आर्थिक वर्ष २०६३/०६४ मा नेपालको कूल वैदेशिक व्यापार २ खर्ब ७३ अर्ब ३६ करोड रुपैयाँ बराबर मात्रै थियो । जसमा आयातको हिस्सा २ खर्ब १३ अर्ब ९२ करोड र निर्यात ५९ अर्ब ४३ करोड थियो ।

सोही वर्ष कृषि, वन पैदवार, पूर्वाधार, ऊर्जा, खनिज, सेवा र पर्यटन क्षेत्रमा खुलेका १७७ वटा उद्योग स्थापनाले आन्तरिक आवश्यकता पूर्तिसँगै निर्यातमा समेत टेवा पुर्‍याउने उद्देश्य राखेका थिए ।

१० वर्ष लामो द्वन्द्वपछि मुलुक शान्तिकालमा प्रवेश गरेकाले अब औद्योगिक युग सुरु हुने आम अपेक्षा थियो, तर त्यसअनुरुप उद्योगमा लगानी थपिएन । लगानीको ठूलो हिस्सा व्यापारमा गयो । हरेक साल उद्योगमा भन्दा व्यापारमा लगानी बढ्दै गयो ।

आव ०७७/७८ को अन्त्यसम्ममा कूल वैदेशिक व्यापारमा भएको लगानी १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ नाघ्यो । जसमा आयातको हिस्सा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख भन्दा माथि छ । सो वर्ष आयातमा भएको लगानी उद्योग स्थापनामा गरेको लगानीभन्दा ९८.३० गुणा हो । आव ०६३/०६४ मा कूल व्यापारमा गरिएको लगानी भन्दा यो ६५.३ गुणा बढी हो ।

उद्योग विभागको तथ्यांकअनुसार आव ०७७/७८ मा नेपालले उद्योगमा १५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ लगानी गर्यो । पछिल्ला पाँच वर्षमा उद्योगभन्दा व्यापारमा ५७ गुणा बढी लगानी भयो ।

आव ०७३/७४ देखि ०७७/७८ सम्म नेपालमा दर्ता भएका २ हजार ३३३ उद्योगमा कुल एक खर्ब १० अर्ब ५४ करोड २२ लाख लगानी भयो । यो पाँच वर्षमा ६३ खर्ब ८४ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ वस्तु आयातमा लगानी भएको छ । उद्योगमा भएको लगानीको तुलनामा यो खर्च ५७.५७ गुणा बढी हो ।

कूल गाह्रस्थ उत्पादनमा योगदानको हिसाबले पनि उद्योगभन्दा व्यापारको हिस्सा बढ्दै गएको छ । आव ०७६/७७ र ०७७/७८ मा कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान क्रमश ५.०३ र ५.०८ प्रतिशत छ । जीडिपीमा दुई आवको व्यापारको योगदान क्रमशः १५.०४ प्रतिशत र १५.६७ प्रतिशत छ ।

नेपालको समग्र प्रणालीले उद्योगमा भन्दा व्यापारमा गरिने लगानीलाई सुरक्षित गरिदिएपछि उद्योगभन्दा व्यापार फष्टाएको उद्योगीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ उद्योगमा गरेको लगानीबाट बैंकमा राखिने पैसाको जतिपनि प्रतिफल नआउने अवस्था भएपछि उद्योगीहरु निराश भएको बताउँछन् ।

महासंघकै उद्योग समिति सभापति भरत आचार्य उद्योगभन्दा व्यापार फष्टाउनुमा सरकारी नीति नै मुख्य कारक रहेको मान्छन् । व्यापारमा लगानी बढी सुरक्षित हुने भएकाले उद्योगमा कम लगानी भएको उनी बताउँछन् ।

‘आयात भएका ६० प्रतिशतभन्दा बढी वस्तु खाद्य र कस्मेटिक्स टाइपका छन् । यी बस्तु नेपालमै उत्पादन गर्ने हो भने आयातसँग प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था सिर्जना गरिएको छ,’ आचार्य भन्छन्, ‘लगानी गर्दा प्रतिफल निश्चित नहुने र सरकारले लगानी सुरक्षाको प्रत्याभूति नदिने भएपछि उद्योग कसरी खुल्छ रु’

लगानी गर्नेले देखेको असुरक्षाका कारण नेपालका लगानीकर्ताहरु उद्योग, व्यापार, बैकिङ लगायत सबै क्षेत्रमा हात हाल्न बाध्य भएको उनी बताउँछन् । उद्योगमा लगानी निरुत्साहित हुन दोहोरो कर, उद्योगमा प्रवेश र बाहिरीन कठिन कानुन, उच्च उत्पादन लागत, महँगो ऊर्जा एवम् श्रम शक्ति र उच्च ब्याजदर प्रमुख कारण रहेको आचार्यले औंल्याए ।

‘अवस्था प्रतिकूल थियो’

अर्थतन्त्रको विकासको महत्वपूर्ण खुड्किलो हुनुपर्ने ओद्योगिक विकासमा यसअघि प्रतिकूल रहेको उद्योग विभागको स्वीकारोक्ति छ । उत्पादनशील उद्योगको योगदान अर्थतन्त्रमा ५ प्रतिशत पनि नहुनु दुःखद रहेको विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् ।

संविधान बनेपछि राजनीतिक स्थिरता कायम भएको र सरकारले आवश्यक ऐन कानुनहरु पनि लगानीमैत्री बनाउँदै लगेका कारण अब अवस्था सहज बन्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?