काठमाडौँ, १२ पौष । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नातेदारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृतको टोली खटाउने तयारी गरेको छ।
विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईका अनुसार अनुसन्धान अधिकृत तोकेर प्रधानन्यायाधीश जबराको परिवार र आफन्तको सम्पत्ति छानबिन गर्ने तयारी गरिएको छ ।
प्रधानन्यायाधीश जबरा, उनको परिवार सदस्य र आफन्तको सम्पत्ति छानविन गर्न उजुरी परेपछि विभागले कदम अघि बढाउने तयारी गरेको छ । विभागले पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने तर, उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न कुनै बाधा नभएको जनाएको छ ।
बृहत् नागरिक आन्दोलनका तर्फबाट वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानन्यायाधीश जबरा, उनकी पत्नी, भाइ, नातेदारलगायतको सम्पत्ति छानविन गर्न माग गर्दै आइतबार उजुरी दिएका थिए।




