काठमाडौँ, ८ पौष । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा बिहीबार आयोजक बंगलादेशविरुद्ध खेलेर प्रतियोगिताको सुरुआत गर्दैछ ।
बंगलादेश राजधानी ढाकामा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
आज नै हुने महिलातर्फको खेलमा नेपाली महिला टोलीले पहिलो जितको खोजीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान सवा ११ मा हुनेछ ।
साविक विजेता महिला टोलीले १३औँ दक्षिण एसियायी खेलकुद ९साग० मा श्रीलंकालाई सोझो सेटमा हराएको थियो ।
पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका तथा महिलातर्फ आयोजक बंगलादेश, नेपाल, उज्वेकिस्तान, कीर्गिस्तान र श्रीलंका सहभागी छन् ।
राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।



