काठमाडौँ, २ पौष । अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् ।
पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको उल्लेख गर्दै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न ताकेता गरेका हुन् ।
“बजेट कार्यान्वयनमा कुनै मन्त्रालयले ढिलासुस्ती गर्न मिल्दैन, अर्थ मन्त्रालयले पनि गर्ने छैन, आफ्नो मन्त्रालयका निम्ति विनियोजन भएको बजेटको ३० प्रतिशत यो महिनाभित्र खर्च भएको हुनुपर्छ”, शर्माले भने ।
बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको भेटिए रकमान्तर गरिने चेतावनी दिँदै उहाँले आर्थिक वर्षको अन्तिममा बजेट निकास गर्ने परिपाटी अन्त्य गर्ने दृढता व्यक्त गरे । समयमै खर्च नहुने स्थिति उत्पन्न भए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने उनले बताए ।



