काठमाडौँ, १ पौष । गरिब मुलुकहरूको आर्थिक पुनरुत्थानका लागि विश्व बैंकले ९३ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ ।
कोभिड १९ महामारीपछि डामाडोल भएको अर्थतन्त्रलाई समावेशी ढंगले सहयोग पुर्याउन यस्तो प्याकेज घोषणा गरिएको विश्व बैंकले बताएको छ । जापानले भर्चुअल माध्यमबाट आयोजना गरेको एक कार्यक्रममार्फत् विश्व बैंकले बुधबार यो राहत कार्यक्रम घोषणा गरेको हो ।
‘हाम्रा साझेदारहरुबाट आएको यो उदार प्रतिवद्धता गरिब देशहरुलाई कोभिड १९ महामारीबाट परेको असर न्यूनीकरणका लागि एक महत्वपूर्ण कदम हो,’ विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड मल्पासले भने, ‘आइडीएसँग जोडिएका विकास साझेदारहरूले अहिले विश्व अर्थतन्त्रमा देखिएका चुनौतीसँग जुध्न र गरिब व्यक्तिहरूको जीवनस्तर उकास्नका लागि आवश्यक सहयोग गर्नेछन् ।’
यो राहत कार्यक्रम विश्वका ७४ वटा गरिब देशले पाउनेछन् । अफ्रिकी मुलुकहरुले मात्रै कुल रकमको ७० प्रतिशत पाउने जनाइएको छ । महामारीका कारण अहिले विकासोन्मुख र विकासशील मुलुकहरुले समेत गरिबी, भोकमरी र बेरोजगारीजस्ता समस्या भोगिरहेका छन् ।
विश्व बैंकको कार्यक्रमबाट विश्वका ४ करोड मानिसले स्वास्थ्य र पोषण सम्बन्धी सुविधा पाउनेछन् ।



