काठामाडौँ, २९ मंसिर । बंगलादेशले आगामी वर्ष २०७८/७९ बाट नेपालको ५ अर्ब रुपैयाँ बराबरको ५०० मेगावाट बिजुली खरिद गर्ने भएको छ ।
हाल बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताएका हुन् ।
सो अवसरमा राज्यमन्त्री हमिदले आगामी वर्षहरुमा नेपालका निजी क्षेत्रसँग दीर्घकालीन् विद्युत खरिद सम्झौता (पिपिए) गर्न समेत गृहकार्य अघि बढाउने बताए ।
राज्यमन्त्री हमिदले नेपालबाट विद्युत आयातका लागि प्रसारण लानइको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताए । राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताएका छन् ।
उनले जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्च भित्रमा काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सिधै विद्युत खरिद सम्झौता (पिपिए) गराउने गृहकार्य सुरु गर्ने बताएका छन् ।
भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको थियो ।
नेपालमा उत्पादन हुने विद्युत बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्ने भएकाले नेपालसँग बंगलादेशले बिजुली खरिद गर्न चाहेको हो ।
पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो । हाल नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको बर्षायाममा मात्र करिब ५०० मेगावाट विद्युत खेर गएको थियो भने यसबाट करिब ५ अर्ब रूपैयाँ बराबरको नोक्सान भएको छ ।



