काठमाडौँ, २६ मंसिर । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से ८८.७० अंकले घटेर २३६१ अंकमा कायम भएको छ । यो अंक करिब ११ महिनायताकै न्यून हो ।
कारोबार रकममा आइतबार सामान्य सुधार देखिएको छ । ३ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । तरलता संकट चुलिँदै जाँदा सेयरमा खरिद पक्ष झनै कमजोर बनेको छ । बजारमा पेनिक सेल बढेको छ ।
बैंकिङ ४४, ब्यापार १८९, होटल तथा पर्यटन ८७, विकास बैंक २८१, जलविद्युत १२४, फाइनान्स १००, निर्जीवन बीमा ४९०, उत्पादन १८६, अन्य ६३, माइक्रोफाइनान्स १७५, जीवन बीमा ५०७ र लगानी उपसमूह ३ अंकले घटे ।
आइतबार १८४ कम्पनीको सेयर मूल्य घट्यो भने जम्मा ५ कम्पनीको मात्रै बढ्यो । युनिलिभर नेपालको मूल्य सबैभन्दा धेरै २ प्रतिशत बढ्यो । मूल्य बढेका अरू ४ कम्पनीमा स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र सपोर्ट माइक्रोफाइनान्स छन् ।




