एजेन्सि, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ।
समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन्।
सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।
उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ।
गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरे सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो।
सैनिक कूभन्दा केही महिनाअघि गत वर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्दै सेनाले आफूले निष्पक्ष चुनाव गराउने बताएको थियो।
सेनाले कू गरेपछि म्यानमारमा दिनदिनै जसो प्रदर्शनहरू भइरहेका छन्। ती प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म १३ सय बढी नागरिकले ज्यान गुमाएका छन्।




