नेप्से ८० भन्दा बढी अङ्कले घट्नुको कारण राष्ट्र बैङ्कले जारी गरेको मौद्रिक नीति

`

     २०७८ मंसिर १३ गते ४:०१

मङ्सिर १३, काठमाडौँ ।

मङ्सिर १३, काठमाडौँ । लगानीकर्ताले उठाउँदै आएको सेयर धितो कर्जा एउटा बैङ्कबाट चार करोड र सबै बैङ्कबाट १२ करोड रुपैयाँको सीमा हटाउनुपर्ने मागलाई शुक्रवार राष्ट्र बैङ्कले जारी गरेको मौद्रिक नीतिको समीक्षामा सम्बोधन गरिएन । यही मागलाई लिएर असन्तुष्ट बनेका लगानीकर्ता समीक्षाबाट केही कर्जा सीमा बढाइन्छ भन्ने अपेक्षामा थिए, जसको नकारात्मक असर सेयर बजारमा परेको छ ।
आइतबारका दिन साताको पहिलो कारोबार सेयर बजारमा मौद्रिक नीति समीक्षाको असर परेको हो ।
नेप्से सूचक ८०.२९ अङ्कले घटेर २,६५१.४९ बिन्दुमा पुगेको छ ।
लगानीकर्ता भने समीक्षापश्चात् ‘पर्ख र हेर’को अवस्थामा देखिन्छन् ।
हतारिएर सेयर बेच्नेको चाप पनि बजारमा बढेको छ । बजार केही दिन अझै करेक्सनमा जान सक्ने भए पनि धेरै घट्न सक्ने अवस्था नभएको नेपाल इनभेस्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । बजार घट्दैमा हतारिएर सेयर बेचिहाल्नुपर्ने अवस्था नआएको उनको तर्क छ ।
भदौमा पनि मौद्रिक नीति जारी भएपछि बजारमा लामो समयसम्म करेक्सन भएको थियो । बिस्तारै लगानीकर्ता चार करोड र १२ करोड सेयर धितो कर्जा सीमालाई मान्नैपर्ने बाध्यताबिच बजारप्रति सकारात्मक हुन थालेका थिए ।
अहिले भने मौद्रिक नीति समीक्षाको प्रभावले बजार पुनः घट्न पुगेको हो । कारोबारमा आएका १३ वटै समूहका सूचक घट्दा विकास बैङ्क समूह र जलविद्युत् समूहको सूचकमा बढी गिरावट आएको छ । त्यस्तै, फाइनान्स, माइक्रो फाइनान्स समूहको सूचकमा पनि गिरावट आएको छ । ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १४ अङ्कले घट्न पुगेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३४ कम्पनीमध्ये १० वटा कम्पनीको मूल्य मात्र बढेको छ भने बाँकी रहेका कम्पनी तथा संस्थाको मूल्य घटेको छ ।
हिमालयन पावर पार्टनरको ८ दशमलव ४९ प्रतिशत, मानुषी लघुवित्तको ८ प्रतिशतले घटेको छ । जोशी हाइड्रो डेभलपमेन्ट, एक्सल डेभलपमेन्ट, ङादी ग्रुप पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६ प्रतिशतसम्म घटेको छ । त्यस्तै, सामलिङ पावर कम्पनीको ८ दशमलव २१ प्रतिशतले बढेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैङ्क, सानिमा जनरल इस्योरेन्स कम्पनीको ३ देखि १ प्रतिशतसम्म सेयर मूल्य बढेको छ ।
बजारमा उच्च अङ्कले गिरावट आए पनि कारोबार रकम तुलनात्मक रूपमा सकारात्मक रहेको छ । कुल एक करोड १९ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा पाँच अर्ब ८३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।
आइसिएफसी फाइनान्सको सेयर मूल्य भने बढेको छ । कम्पनीको ९ दशमलव ७८ प्रतिशतले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?