किसानद्वारा सोमबार भारत बन्दको घोषणा, ४० भन्दा बढी सङ्गठनको समर्थन

`

     २०७८ आश्विन ११ गते ७:५२

काठमाडौँ, ११ असोज । केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरूले सोमबार भारत बन्दको आह्वान गरेका छन् । एक वर्ष अगाडि सरकारले ल्याएको कृषि कानुनको विरोधमा भारतका ४० भन्दा बढी संगठनले भारत बन्दको आह्वान गरेका हुन् ।

किसान संगठन अनुसार बिहान ६ बजेदेखि सुरु भएको बन्द बेलुका बजेसम्म जारी रहनेछ । संयुक्त किसान मोर्चाले सबै सामाजिक संगठन र ट्रेड युनियनलाई भारत बन्दमा समर्थन जनाउन अपिल गरेको छ । त्यस्तै भारतका विभिन्न प्रतिपक्षी दलले पनि बन्दको समर्थन गरेका छन् ।

भारत बन्दको प्रभाव उत्तर भारतको पञ्जाब, हरियाणादेखि लिएर दक्षिण भारतको केरलसम्म देखिएको बीबीसी हिन्दीले जनाएको छ । केरलमा एलडीएफ र यूडीएफसँग सम्बद्ध ट्रेड युनियनले बन्दको समर्थन गरेका छन् । विभिन्न स्थानमा रेलवे लिकमै प्रदर्शन गरिएको छ । किसान नेता राकेश टिकैटले एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधनलाई भने बन्दमा नरोकिएको बताएका छन् ।

तमिलनाडुमा बन्दका क्रममा प्रहरीको ब्यारिकेड तोडेको आरोपमा केही किसानलाई नियन्त्रणमा लिइएको जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार प्रहरी र प्रदर्शनमा उत्रिएका किसानबीच केहीबेर झडपसमेत भएको छ ।

मोदी सरकारले ल्याएका किसानसम्बन्धी विभिन्न तीन वटा कानुनको विरोधमा एक वर्षदेखि किसानहरु आन्दोलित भएका हुन् । किसान नयाँ कानुन लागू भएको खण्डमा कृषि क्षेत्रमा कर्पोरेट क्षेत्रको बर्चस्व स्थापित हुने, किसानहरुले आफ्ना उत्पादनको न्यूनतम समर्थन मूल्य९एमएसपी० पनि नपाउने भन्दै चर्को विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?