काठमाडौँ, १६ भदौ । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले बुधबार अदालत जाने भएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने ‘आज कार्यालय समयभित्रै मुद्दा दर्ता गर्ने गरी तयारी गर्दैछौ, मुद्दाको ब्यहोरालाई अन्तिम रुप दिने काम भइरहेको छ’।
केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सांसदलाई पदमुक्तको निर्णय गरेको थियो ।
तिनै कारवाही गरेका १४ सहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुको सनाखतलाई मान्यता दिएर आयोगले भदौ ९ गते बुधबार नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।




