काठमाडौँ, ९ वैशाख । नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा मलेसियालाई राउन्ड रोबिनको अन्तिम खेलमा ६९ रनले पराजित गरेको छ ।
करण केसीको आक्रामक ब्याटिङ अनी सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि अन्तिम खेलमा नेपालले मलेसियालाई पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमै अलआउट भयो ।
नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामछानेले ३/३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । करणले ४ ओभरमा २७ रन खर्चिए भने विकेट लिन सकेनन् ।
चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।




