काठमाडौँ, ९ वैशाख । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसिया विरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । राउन्ड रोबिन लिगको अन्तिम खेलमा मलेसियाले बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङमा बोलाएको हो ।
यस खेलअघि नै नेपाल र नेदरल्याण्ड्स फाइनलमा पुगिसकेका छन् । नेपालले तीन खेलमा २ मा जित र १ मा हार ब्योहोरेको थियो । नेदरल्याण्ड्सले दुई जित, १ हार र १ बराबरीका साथ राउन्ड रोबिन लिगको यात्रा टुंग्याएको थियो ।
नेपालले मलेसियासँगको खेलमा अविनाश बोहोरा र शाहब आलमको स्थानमा सुशन भारी र कमलसिंह ऐरीलाई खेलाएको छ । तीव्र बलर कमलको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यु खेल हो ।
नेपाली स्पिनर सन्दीप लामिछानेको ट्वान्टी-२० मा आजको यो खेल सयौं खेल हो । उनले नेपालबाट आज २४ औं ट्वान्टी-२०अन्तर्राष्ट्रिय खेल खेल्दैछन् ।




