एजेन्सी,२ बैशाख । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन्। एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिएका छन् भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनु पर्ने सुझाब दिएका छन्।
एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिने दर बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताए।
जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा समस्या देखिए यसलाई रद्द गर्नुको विकल्प नरहेको बताए।
उनले अगाडि भने, “जापानमा ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न हुनु जरुरी छ। यो जापानका लागि ठूलो अवसर पनि हो। म पनि यो सफल होस् भन्ने चाहन्छु। हामीले धेरै विषयलाई सुल्झाउनु र त्यसको तयारी गर्नु जरुरी छ, हरेक खेलाडी तथा पदाधिकारीको विशेष हेरबिचार गर्नुपर्ने चुनौती छ।”
टोकियो ओलम्पिक आयोजकको भनाईमा आगामी ओलम्पिक खेल सफलतापूर्वक आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र इन्टरनेसनल पाराओलम्पिक कमिटी पूर्ण रुपमा प्रतिबद्ध रहेका छन्। उनीहरुले प्रधानमन्त्री योशिहिडे सुगाले ओलम्पिक खेल आयोजना गर्न जापान प्रतिबद्ध रहेको पटकपटक बताएको जनाएका छन्।
गत बुधबार मात्र ओशाका शहरमा एक हजार १०० भन्दा बढी नयाँ रोगी भेटिएका थिए। यो गत जनवरी यताकै सबैभन्दा ठूलो संख्या हो। जापानमा कोभिडको सङ्क्रमणबाट हालसम्म ९ हजार ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।
जापानमा खोप अभियानको नेतृत्व गरिरहेका मन्त्री तारो कोनोले टोकियो ओलम्पिक हुने अवस्था सिर्जना भएपनि खेल मैदानमा कुनै पनि दर्शक नहुने स्पष्ट गरे। उनले ओलम्पिक खेलहरु खाली रङ्गशालामा खेलाइने बताए।
गत वर्ष कोभिडको सङ्क्रमा तिव्रदरमा वृद्ध भएसंगै ओलम्पिक खेल एक वर्ष सारिएको थियो। यस वर्ष जुलाई २३ मा टोकियो ओलम्पिक शुरु हुनेछ। साथै पाराओलम्पिक अगष्ट २४ बाट हुनेछ। दुबै ओलम्पिकका खेल हेर्न जापान आउन चाहने विदेशी व्यक्तिलाई जापान आउन प्रतिबन्ध लगाइसकिएको छ।
ओलम्पिक आयोजनाको कूल लागत करिब १५.४ अर्ब अमेरिकी डलर रहेको छ, भने टिकट बिक्रीबाट झण्डै ८० करोड अमेरिकी डलर आर्जन गर्ने अनुमान गरेका थिए।




