पोखरा, २६ चैत । पोखरा रङ्गशालामा जारी आहा–रारा गोल्ड कप अन्तर्गत बिहीबार भएको सेमिफाइनलमा अफ्रिकन रुट्स एसोसिएसन नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । अफ्रिकन रुट्ससँग २–० गोलको हारसँगै प्रहरी सेमिफाइनलबाटै बाहिरिएको हो ।
खेलको पहिलो हाफको २ मिनेटमै रुट्सका बसिकले पहिलो गोल गरेर खेलमा अग्रता दिलाएका थिए । यसपछि प्रहरी निकै दबाबमा थियो । पहिलो हाफको सुरुमै दबाबमा परेको प्रहरीले प्राविधिक रूपमा राम्रो खेले पनि एउटै गोल गर्न सकेन । दोस्रो हाफपछि थपिएको ४ मिनेटको समयमा ९३.४० मिनेटमा अफ्रिकनका मउसाले अर्को गोल गरेर फराकिलो जित भएका थिए ।अफ्रिकनका खेलाडी अग्लो भएकाले पनि हाइ पासेज र हेडरको थेरै प्रयोग गरेका थिए । खेलमा दुवै टिमका ३/३ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए । प्रहरी यसअघिका विभिन्न वर्षमा आहा रारा प्रतियोगिता ६ पटकसम्म विजेता र ४ पटक उपविजेता थियो । मङ्गलवार भएको सेमिफाइनलमा पुलिसले थ्री स्टारलाई ४–० को फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा पुगेको थियो ।
अब शनिवार हुने फाइनल खेलमा अफ्रिकन र सङ्कटा क्लब भिड्ने भएका छन् । दुवै टिम पहिलो पटक फाइनलमा पुगेका हुन् । अफ्रिकन टिम भने यो प्रतियोगितामा पहिलो पटक सहभागी भएको थियो ।




