चितवन, १४ चैत । ५४ वर्षीया धनमाया तामाङ छोरी ३४ वर्षीया उषालाई सुमसुम्याउँदै थिइन्। दुवै जना एकअर्कालाई हेरेर मुस्कुराउँदै थिए। घरीघरी भावुक पनि हुन्थे। छोरीको आधा कलेजो आमाको शरीरमा प्रत्यारोपण गरेको चार दिनपछि भेट भएको हो। यसरी भेट हुँदा यी आमाछोरीमा खुसीको कुनै सीमा थिएन।
यी आमाछोरी चितवन मेडिकल कलेजको प्रत्यारोपण वार्डको सँगै जोडिएको अलग–अलग क्याबिनमा छन्। उषा आमाको अवस्थाबारे स्वास्थ्यकर्मीलाई सोधिरहन्छिन्। आफ्नो आधा कलेजो दिएर आमालाई बचाउन पाएकोमा उषाले गर्व महसुस गरेकी छन्।
होस खुलेदेखि उनलाई आमा हेर्न हतारो थियो। ‘आमालाई केही नहोस् भनेर भगवान्सँग प्रार्थना गरें’, उषाले भनिन्, ‘आमाको लागि कलेजो केही होइन्। मेरो कारणले आमा बाँच्नुभयो त्यसैमा खुसी छु।’

धनमायाको पाँच महिनाअघि स्वास्थ्य परीक्षण गर्दा कलेजोले काम गर्न नसक्ने पुष्टि भएपछि परिवारमा खैलाबैला मच्चिएको थियो। कलेजो प्रत्यारोपणको विकल्प थिएन। कलेजो दान गर्ने वचन दिएका आफन्त अनेक बहाना गरेर पन्छिए। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।




