चितवन, १० चैत। चितवनको माडीमा सोमबारदेखि होली कप नकआउट फुटबल प्रतियोगिता सुरु गरीएको छ ।
गौरीशङ्कर युवा क्लब माडी–७ गौरीनगरको आयोजनामा सोमबारदेखि १९औँ अन्तर माडी होली कप नकआउट फुटबल प्रतियोगिता २०७७ सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गौरीशङ्कर युवा क्लब ‘सी’ ले हार व्यहोरेको छ । गौरीनगरस्थित खेल मैदानमा भएको खेलमा वसन्तपुर युनाइटेड क्लब ‘बी’ ले आयोजक गौरीशङ्कर युवा क्लब ‘सी’ लाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।
वसन्तपुरको जीतमा सम्राट दराईले दुई तथा एबिन बस्याल, शिशिर सुनार र कृष्ण महतोले एक/एक गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत आज तीन खेल सञ्चालन हुने भएका छन् । यसअघि प्रतियोगिताको माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले उद्घाटन गरेका थिए । सो अवसरमा उनले खेलकूदको विकासका लागि माडीका क्लबहरुलाई नगरपालिकामार्फत आर्थिक, भौतिक र नैतिक सहयोग सदैव प्रदान गर्ने उल्लेख गरेका छन् ।
माडीका १७ टोलीको सहभागिता रहेको प्रतियोगिता विजेताले रु ७० हजार तथा उपविजेताले रु ३५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।




