काठमाडौँ, २५ फागुन। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सरु लिम्बुको १० गोलको सहयोगमा मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा जित हासिल गरेको छ ।
मंगलबार भएको टोलीको पहिलो खेलमा मासाले सियालकोट सिटीलाई १९–० ले पराजित गरेको हो । मासाको जितमा सरु एक्लैले १० गोल गरेकी हुन् ।
यही खेलमा नेपाली खेलाडी अनिता केसीले ६ गोल गरिन् । त्यस्तै, गीता राना, जारा इकबाल र सम्रोजले १/१ गोल गरेका छन् ।
मासा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदानमा उत्रिएको थियो ।
पहिलोपटक नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडीले पाकिस्तानको महिला लिग खेल्ने अवसर पाएका हुन् ।




