काठमाडौं, २५ फागुन । वरिष्ठ नेता माधव नेपालको समूह साबिकको एमालेमा सक्रिय हुने भएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएको अर्को दिन नेपाल समूहले आफ्ना एजेन्डालाई जीवित राख्दै पूर्ववत् एमालेमा क्रियाशील हुने निर्णय गरेको हो ।
वरिष्ठ नेताहरू नेपाल, झलनाथ खनालसहित पूर्वएमाले समूहका स्थायी कमिटी सदस्यहरू सोमबार दिउँसो अर्याल होटेल नयाँबानेश्वर बसेका थिए । अदालतको फैसलाप्रति असहमति रहे पनि कार्यान्वयन गरेर अगाडि जानुको विकल्प नरहेको निष्कर्षपछि उनीहरू प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको संयुक्त बैठकमा भाग लिन पेरिसडाँडा पुगेका थिए ।
पेरिसडाँडामा ११ बजे बैठक बोलाइए पनि अर्याल होटलको बैठक लम्बिएपछि ३ बजेका लागि बैठक सारिएको थियो । बैठक ४ बजेमात्र सुरु भएको थियो ।
अधिकांश स्थायी कमिटी सदस्यले एमालेमै पूर्ववत् क्रियाशील हुने, तर प्रधानमन्त्री केपी ओलीको व्यक्तिवादविरुद्ध अन्तर्संघर्ष जारी राख्दै विधि, पद्धतिअनुसार पार्टी सञ्चालनका लागि विगतजस्तै सबै तहमा भूमिका खेल्ने निष्कर्ष निकालेका थिए ।

‘अधिकांश स्थायी कमिटीका नेताले कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै एमाले निर्माणमा नेतृत्वदायी भूमिका खेलेकाले कसैले पनि छाड्ने होइन,’ बैठकमा सहभागी स्थायी कमिटीका एक सदस्यले भने, ‘माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूको अरूको भन्दा धेरै योगदान रहेकाले आफैँले बनाएको पार्टी छाडेर हिँड्ने त अब प्रश्नै छैन ।’
पूर्ववत् एमाले ब्युँतिएपछि त्यहाँ क्रियाशील हुँदा विगतदेखि उठाउँदै आएको एजेन्डालाई पनि ब्युँताउने, तर घृणा, अपमानको व्यवहार भए अन्तर्संघर्ष चर्काउने नेपाल समूहको निष्कर्ष छ । त्यस्तै, तत्कालीन नेकपाका अध्यक्ष ओली र प्रचण्डलाई पुनः एकताका लागि पहल लिन आग्रह गर्ने तथा सम्भव भएसम्म अदालतको फैसलाको पुनरावलोकनका लागि अघि बढ्न सुझाब दिने निष्कर्ष पनि बैठकले निकालेको छ । यो खबर नयाँपत्रिकामा छ ।




