काठमाडौं, २४ फागुन । काठमाडौंवासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन्। वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा आउने मेलम्ची खानेपानी विकास बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले आंशिक रूपमा परीक्षण गरेर चैत दोस्रो सातादेखि नै वितरण गर्न सकिने बताए।
‘पूर्णरूपमा परीक्षण गरी वितरण गर्न भने अझै डेढ महिनाजति लाग्छ’, कार्यकारी निर्देशक खत्रीले भने, ‘वैशाख दोस्रो सातादेखि वितरण हुन सक्छ।’
परीक्षणका क्रममा साढे २६ किलोमिटर सुरुङ पार गरी मेलम्चीको पानी शनिबार मात्रै सुन्दरीजलमा खसालिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर सुन्दरीजलमा पानी खसालेका थिए। सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन ११ गते सुरुङमा पानी प्रवेश गराइएको थियो। सुरुङ निर्माण थालिएको १२ वर्षमा सम्पन्न गरी सुन्दरीजलमा पानी आइपुगेको हो।
मेलम्चीको पानी आउन थालेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण क्षेत्रभित्र दिनहुँ साढे दुईदेखि तीन घण्टासम्म पानी दिइने कार्यकारी निर्देशक खत्रीले बताए।

पानी वितरण गर्न अझै डेढ महिना लाग्नेछ। सुन्दरीजलमा रहेका दुईवटा प्रशोधन केन्द्रको परीक्षण भएको छैन। सुरुङको मात्रै परीक्षण भएको छ। वितरण पाइपलाइन र थोक वितरण प्रणालीलगायत अरू संरचनाको पनि परीक्षण गर्नुपर्ने हुन्छ। सबै परीक्षण पूरा गरी पानी वितरणमा भने केही समय लाग्ने खत्रीको भनाइ छ। आंशिक परीक्षणलगत्तै वितरण गर्दा छिटो हुने उनले बताए। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।




