झापा,२३ फागुन । सिलगुढीकी गीता शर्मा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएपछि अहिले सामान्य अवस्थामा हुनुहुन्छ । सुरुको अवस्थामा सिलगुढीबाट राजीव गान्धी अस्पतालमा उपचारका लागि जानुभएकी शर्मा झापामा पनि क्यान्सरको उत्कृष्ट अस्पताल छ भन्ने सुनेर झापामा उपचारका लागि आउनुभएको हो ।
डेढ वर्षअघि स्तन क्यान्सरपीडित उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ । राजीव गान्धी अस्पतालमा भारु २५ लाख खर्च हुने भएपछि सस्तो उपचारको खोजी गर्दै उहाँ झापा विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल आइपुग्नुभएको थियो ।
क्यान्सर रोगी उहाँले सिलगुढीमा अधिकांश नेपाली बस्ती भएकाले पनि झापा आएर उपचार गर्न सहज भएको सुनाउनुभयो । भाषा मिल्ने, सस्तो उपचार, सेवा–सुविधा राम्रो लागेपछि पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएको जानकारी दिनुभयो ।
झापामा आँखा उपचारका लागि भारतबाट धेरै मानिस आउँछन् भन्ने सुनेकी थिएँ त, शर्माले थप्नुभयो, “आफूलाई क्यान्सर भएपछि पूर्वाञ्चल अस्पताल आउँदा अस्पतालजस्तो लागेन ।” पाँचतारे होटलमा आएको अनुभव सुनाउनुभएकी उहाँले क्यान्सरको उपचार गर्न आउँदा पर्यटकीय स्थल घुम्न आएकी हुँ कि जस्तो लागेको बताउनुभयो । पानीका फोहोरा, देवताहरूको चित्र देख्दा उक्त स्थानमा फोटोसमेत खिचेको उहाँले बताउनुभयो ।

झापा अर्जुनधाराकी ५६ वर्षीया प्रेमकुमारी फुयालको स्तन क्यान्सर उपचार झापामै भएको हो । सुरुमा नुहाउन जाँदा गाँठो पलाएजस्तो लाग्यो उहाँलाई । त्यसपछि विर्तामोडस्थित एक क्लिनिकमा उपचारका लागि जाँदा बीएन्डसी अस्पतालमा रिफर गरिदियो । फुयालले भन्नुभयो, “बीएन्डसीमा बायोप्सी गराउँदा क्यान्सर पुष्टि भयो ।” दुई वर्षअघि साउनमा क्यान्सर पत्ता लागेकोमा बीएन्डसी अस्पतालमा क्यान्सर उपचार नभएकाले भक्तपुर क्यान्सर अस्पताल आएको उहाँले बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।




