गोकर्णको जग्गा : यतीलाई रोपनीको वार्षिक १५ हजार, प्राथमिक अस्पतालसंग पाँच लाख १३ हजार भाडा माग्दै सरकार
एजेन्सी, १९ फागुन । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णयअनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको नेपाल ट्रस्टले गोकर्णको २७ सय ९२ रोपनी जग्गा यतीलाई दिएको छ ।
यतीको भाडा सन् २०५० मा पनि वार्षिक प्रतिरोपनी १७ हजार हुनेछ, तर गोकर्णेश्वर नगरपालिकासँग ट्रस्टले अहिले नै प्रतिरोपनी वार्षिक पाँच लाख १३ हजार मागेको छ ।
पूर्वराजा वीरेन्द्रबाट राष्ट्रका नाममा आएको सम्पत्तिमा अहिले घरानियाँको रजगज कसरी बढिरहेको छ रु त्यसको उदाहरण पटक–पटक गोकर्ण रिसोर्टले दिइरहेको छ । हो, नाफामूलक व्यापार गर्न यती समूहलाई रोपनीको जम्मा १५ हजारका दरले लिजमा दिएको सरकारले नगरपालिकाको अस्पतालका लागि भने रोपनीको पाँच लाख १३ हजार मागेको छ ।
तत्कालीन राजपरिवारको नाममा गोकर्णमा रिसोर्टसहित रहेको ३७ सय रोपनी जग्गा नेपाल ट्रस्टको नाममा आएको छ । जसमध्ये २७ सय ९२ रोपनी जग्गामा यती समूहले रिसोर्ट सञ्चालन गरिरहेको छ । गत वर्ष २३ मंसिरमा मन्त्रिपरिषद्ले यतीलाई २७ सय ९२ रोपनी जग्गा आगामी ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा ईश्वर पोखरेल नेतृत्वको नेपाल ट्रस्टले यती समूहको कम्पनी एलएम सुभीर ब्रदर्ससँग ३० वर्षका लागि सम्झौता गरेको थियो ।

सन् २०२० देखि सन् २०५० सम्म यती समूहले २७ सय ९२ रोपनी जग्गाको कुल एक करोड आठ लाख २३ हजार २०५ अमेरिकी डलर तिर्नेछ । यसरी औसतमा वर्षको तीन लाख ६० हजार डलर तिर्नेछ । यो हिसाबले प्रतिरोपनी वार्षिक १३० डलर अर्थात् नेपाली रुपैयाँ १५ हजार मात्र यतीले नेपाल ट्रस्टलाई तिर्नेछ । यो खबर आजको नयाँपत्रिकामा छ ।




