काठमाडौँ, १९ माघ । महिला राष्ट्रिय लिग फुटबलमा सोमबार एपीएफले चौदण्डीलाई भारी गोल अन्तरले हराएको छ ।अंक तालिकाको शीर्ष र पुछारमा रहेको टिमबीचको खेलमा एपीएफले २२ गोल अन्तरले चौदण्डीलाई हराएको छ।
उपाधिको बलियो दाबेदार तथा डिफेन्डिङ च्याम्पियन एपीएफको यो लगातार छैटौं जित हो । पहिलो हाफमा एपीएफ १२ गोलले अगाडि रहेका थिए ।
विजयी टिमका लागि सावित्रा भण्डारीले १२ गोल गरिन् । यस्तै, कप्तान अनु लामाले ५ र अनिता बस्नेतले ३ गोल गरे । रेणुका नगरकोटी र सरु लिम्बूले १ /१ गोल गरे ।
यसअघि आर्मीले दिनको पहिलो खेलमा विराटनगरलाई सजिलै ७ गोलले हरायो । त्यसमा शर्मिला थापाले ह्याट्रिक गरिन् ।
यस्तै, विमला चौधरीले दुई गोल गरिन् भने रश्मी घिसिङ र विमला विकले एकरएक गोल गरे ।
यो जितपछि आर्मी अंक तालिकाको दोस्रो स्थान हाँसिल गरेका हुन् । तेस्रो जित निकालेको आर्मीको पाँच खेलबाट १० अंक भएको छ । विराटनगर भने सात अंकसहित चौथो स्थानमा रहेका छन् ।




