काठमाडौं, ८ माघ । कोभिड महामारीविरुद्धको बहुप्रतीक्षित खोप अन्ततः नेपालमा आउँदै छ । छिमेकी भारतले अनुदानमा दिने १० लाख डोज खोप बिहीबार काठमाडौं आइपुग्दै छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दिने खोप बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ । अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो ।
सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई कोभिड– १९ विरुद्धको खोप लगाउने तयारी गरेको छ । तर, अहिले भने १० लाख डोज मात्रै आउन लागेकोले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमको भनाइ छ ।
‘यो खोप एकजनालाई दुई डोज लगाउनुपर्छ । त्यसैले सामान्यतया १० लाख डोजले पाँच लाख जनसंख्यालाई लगाउन पुग्ने हो । तर, १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘एक भायलमा १० डोज खोप हुन्छ । हरेक भायल खोलेपछि तुरुन्तै सक्नुपर्छ । ६ घन्टापछि लगाउन मिल्दैन । त्यसबीचमा लगाएर सकिएन भने पनि त्यसलाई फाल्नुपर्छ । त्यसैले अहिले आउन लागेको खोप करिब चार लाख नागरिकलाई लगाउन सकिन्छ भन्ने अनुमान छ ।’
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार कोभिडविरुद्धको पहिलो खेप नेपाल आउन लागेको जानकारी दिएका हुन् । पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्सचालक, जोखिममा रहेका सामाजिक अभियन्तालाई लगाइनेछ ।
तर, स्वास्थ्यकर्मीलाई तालिम दिने तथा खोप ढुवानी गर्नेलगायतका काम सकेर खोप सुरु गर्न करिब १० देखि १५ दिन लाग्ने गौतमको भनाइ छ । ‘हामी समय खेर फाल्ने पक्षमा छैनौँ । यसबीचमा स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्छ, खोप ७७ जिल्ला पु¥याउनुुपर्छ, यसका लागि ढुवानी पनि व्यवस्थित बनाउनुपर्छ । यी काम फास्ट ट्र्याकबाट अगाडि बढाउनेछौँ । खोप लगाउने दिन अहिले नै तोकेर भन्न सक्ने अवस्था छैन । तर, खोप झरेको १० देखि १५ दिनभित्र लगाउन सुरु गर्छौँ,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयले खोप भण्डारणदेखि वितरण र लगाउनेसम्मका सबै तयारी पूरा भएको जनाएको छ । खोप लगाउन करिब १५ हजार स्वास्थ्यकर्मी परिचालन हुनेछन् । विगतमा नियमित खोप लगाएका स्वास्थ्यकर्मीले सामान्य तालिम पाएपछि यो खोप लगाउन सक्ने मन्त्रालयको बुझाइ छ । उनीहरूलाई तालिम दिन पनि सुरु गरेको छ ।
संसारका विभिन्न देशले कोभिड– १९ विरुद्ध खोप धमाधम लगाउन थालेसँगै नेपालले पनि पहल थालेको हो । भारतले सोमबार सार्वजनिक घोषणा गर्दै छिमेकी तथा साझेदार मुलुकहरूलाई कोभिडविरुद्धको खोप अनुदानमा दिने जनाएको थियोे । भारतले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप दिने घोषणा गरेको छ । सोही घोषणाअनुसार बिहीबार नै खोपको पहिलो खेप काठमाडौं आउँदै छ ।
नेपालले पहिलो चरणमा अनुदान तथा खरिदमार्फत ४७ लाखजनालाई पुग्ने गरी खोप उपलब्ध गराउन भारत सरकारलाई अनुरोध गरेको छ । तर, भारतले पहिलो चरणमा करिब पाँच लाखलाई पुग्ने खोप दिएको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप आउन लागेको हो ।
नेपालमा हाल प्रयोग भएका नियमित खोप पनि अधिकांश सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । त्यसैले, ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगका लागि नेपालको औषधि व्यवस्था विभागले पनि अनुमति दिएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार २ देखि ८ डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिने भएकाले पहिलो प्रयास ‘कोभिसिल्ड’ खोप ल्याउने नेपालको प्राथमिकता हो ।

हाल नियमित खोपका लागि मौज्दात रहेको ५० लाख सिरिन्ज कोभिड– १९ को खोपका लागि प्रयोग गर्ने स्वास्थ्य मन्त्रालयको योजना छ । ‘सेरम इन्स्टिच्युट अफ इन्डियाले खोप मात्रै बनाउने काम गर्छ । उसले सिरिन्ज बनाउँदैन, हामीले त्यसका लागि बेग्लै व्यवस्थापन गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘ तर, हामीसँग करिब ५० लाख सिरिन्ज मौज्दात भएकाले तत्काल समस्या हुँदैन ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।




