काठमाडाैं, २ माघ । मिरा राई भनेपछि नचिन्ने कमै छन् । किनकि उनी एक ‘आइकन’बनिसकिन् । भोजपुरको सानो दुम्मा सन् ३१ डिसेम्बर
१९८८ जन्मिएकी मिरा एक त्यस्ती साहसी माओवादी योद्धा थिइन्, जसलाई राज्यले सेना समायोजनका क्रममा ‘अयोग्य’को बिल्ला भिराइदियो । तर तिनै अयोग्य पूर्व छापामारले विश्वसामु नेपालराष्ट्रको नाम उँचो राख्न सफल भइन् ।
सधैँ जित्ने संकल्प बोकेर अगाडि बढेकी मिराले विभिन्न समस्याहरूको बाबजुद पनि कहिल्यै हार खाइनन् । त्यो दृढ संकल्पले नै उनले नेपाललाई विश्वसामु चिनाइन्, अल्ट्रा धावक बनेर ।
भोजपुरको विकट गाउँमा जन्मिएकी मिराको बाल्यकाल ढिकी–जाँतो, घर–दैलो, घासँ–दाउरा, मेला–पात र गोठालो गर्दैमा बित्यो । सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु उनको नियमित दैनिकी हुन्थ्यो । आफ्नो उमेरभन्दा दोब्बर किलो तौलको भारी बोकेर उकाली–ओराली गर्थिन् ।
गरीब परिवारमा हुर्केकी उनले यति गर्नुबाहेक अर्को विकल्प पनि थिएन । मिरालाई एकोहोरो घरभित्रको काम गर्न मनै लाग्दैनथ्यो । घरबाहिरको काम भने सबै गर्थिन् । घरको पहिलो सन्तान, उमेर सानै भए पनि उनको जिम्मेवारी धेरै थियो । घरको आर्थिक अवस्था पनि कमजोर भएकै कारण १२ वर्षको उमेरमा उनी स्कुल नगई–नगई चामल बेच्न जान्थिन् ।
घाँस–दाउरा र मेलापातमै जीवन चलिरहेको थियो । र, सँगसँगै नाम मात्रको पढाइका लागि स्कुल पनि जान्थिन् उनी । कक्षा ६ मा अध्ययनरत रहँदा एक दिन मिरा माओवादीमा आबद्ध भइन् ।

क्रान्ति र राजनीति बुझेर भन्दा पनि साथीहरूको लहैलहैमा लागेर उनी भूमिगत भएकी थिइन् । माओवादीले गाउँ–घरमा बेलाबेलामा सांस्कृतिक कार्यक्रम गथ्र्यो, त्यो कार्यक्रम मिरालाई मन पथ्र्यो । त्यसले पनि उनलाई माओवादीमा तान्यो । ओवादीमा लागेर पनि दुई वर्ष घरमै बसेर उनले पढाइ अघि बढाउने मौका पाइन् । ८ कक्षा पुगेपछि उनी माओवादीको पूर्णकालीन सदस्य बनेकी थिइन् । मरिन्छ कि बाँचिन्छ, उनलाई केही थाहा थिएन । आमाबुबालाई नसोधीकनै उनी पार्टीमा आबद्ध भइन् । क्रान्ति र राजनीतिका कुरा नबुझेरै पार्टीमा होमिनुको उनको उद्देश्य भनेको घरको अवस्थामा सुधार ल्याउनु नै थियो ।
त्यसपछि उनी घाँस–दाउरा, मेलापात र गोठालो छाडेर दुनिया बदल्ने अठोटका साथ बन्दूक बोक्न थालिन् । आगोको मुस्लो र बारुदको धुवाँसँग रङमङ्गिन पुगिन् । भ्यागुताको एकनासे ट्वारट्वार, झ्याउँकिरीको झ्याउँझ्याउँ, पिलपिल बत्ती बाल्दै अँध्यारो रातमा डुल्दैगरेको जुनकिरीलाई छाडेर उनी बन्दुक गर्जन र बारूदको झिल्कोसँग रमाउन थालिन् । यद्यपि उनले युद्धस्थलका आला घटना भने देखिनन् । युद्धस्थलमा छट्पटाइरहेका घाइतेका चित्कार पनि उनले सुन्नु परेन । दुस्मन पराजित गर्ने अभियानमा दुस्मन, सहयोद्धा र कमान्डरहरूको रगतको साक्षी पनि उनी कहिल्यै बनिनन् । ‘हतियार बुझाऊ र ज्यान जोगाऊ’ न त उनले भनिन्, न त त्यो भनाइ उनको कानले नै सुन्नुप¥यो ।
‘इतिहास लेख्नुभन्दा इतिहास निर्माण गर्नु बढी आनन्ददायी हुन्छ’ भन्ने लेनिनवादी सिद्धान्त बोकेर उनी आफ्नो ज्यानको बाजी थापेर तीन वर्ष बन्दुक बोक्दै हिँडिन् ।
माओवादी क्रान्तिबाट आफ्नो मात्र नभई पूरै देशको मुहार फेरिने विश्वासमा उनी आगोको मुस्लो र बारुदको धुवाँसँगै परेड खेलिरहिन् । जब १२ बुँदे सहमतिअनुरुप माओवादी शान्ति–प्रक्रियामा आयो, त्यसपश्चात् तत्कालीन छापामार लडाकूहरूलाई नेपाली सेनामा समायोजनको प्रक्रिया पनि सुरु गरियो । त्यस क्रममा क्यान्टोनमेन्टमा राखिएका १९ हजार ६०२ लडाकुमध्ये १५ हजार ६३० जना लडाकु घर फर्किए भने १ हजार ४२१ जना नेपाली सेनामा समायोजन भए । ५ हजार ६३० जनामध्ये एक थिइन्, मिरा पनि ।
माओवादी सेनालाई सामूहिक रुपमा नेपाली सेनामा समायोजन गर्ने खबरले उनी खुशी भएकी थिइन् । सेना समायोजनमा आफू पनि पर्ने र घरको अवस्थामा सुधार आउने विश्वास उनको थियो । तर, उनी अनमिनबाट ‘अयोग्य’ घोषित भइन् । सेनाको फुली लगाएर आमाबुबालाई आर्थिक रुपमा सघाउने उनको योजना सदाका लागि चकनाचुर भयो ।
सरकारले मात्र होइन, आफ्नै पार्टीले समेत अयोग्य भनेपछि उनी घर पनि फर्कन सकिनन् । घर फर्कन पनि नसकिने र जागिर पनि नपाइने त्यो बेला थुप्रै ‘अयोग्य’ लडाकूहरुले जिल्लामै सानोतिनो काम गर्न थाले । मिरा पनि सिन्धुलीमै बसिन् ।
अनमिनबाट अयोग्य भएपछि सानैदेखिको खेलकुदतर्फको रुचि पूरा गर्न माओवादीकै पिएलएल स्पोर्टस् क्लबसँग आबद्ध भइन् । पिएलएबाट सुरुका दिनमा कराँते प्रशिक्षण थालेकी मिराको भेट बालाजु कराँते एकेडेमीका अध्यक्ष ध्रुव विक्रम मल्लसँग भयो ।

मल्ल खेलाडी छनोटको सिलसिलामा सिन्धुली पुग्दा मिरामा खेलाडी बन्ने सम्भावना देखे । मिरालाई उनले काठमाडौं झिकाएर स्थानीय प्रतियोगितामा प्रतिस्पर्धा गराउन थाले ।
अयोग्य ठहरिएपछि उनलाई जीवनदेखि नै दिग्दार लागेकोे वेला थियो त्यो । घरको कमजोर आर्थिक अवस्थाले सानै उमेरदेखि मिरालाई पिरोलेको छँदै थियो । त्यसैले कराँते सिक्दै गर्दा मजदुरीका लागि मेलेसिया जान समेत तयार भइन् उनी । तर खेल गुरु धुव्रविक्रमले केही समय खेलकुद क्षेत्रमै प्रतिक्षा गर्न उनलाई सुझाव दिए । एकदिन लहैलहैमा अल्ट्रा म्याराथनमा मीराले भाग लिइन् र पहिलो खेलमा नै उनी प्रथम भइन् ।
त्यसपछि उनको जीवनले नयाँ मोड लियो । सानो उमेरमै अनेक हण्डर र ठक्करको लम्बेतान यात्रा गरेकी मिराले एक दिन अल्ट्रा म्याराथनमा विश्व कीर्तिमान राख्न सफल भइन् ।
०७० चैत ९ गते हिमालयन आउटडोर फेस्टिभलमा प्रतिस्पर्धा गर्दा मिराले पहिलो स्थान हासिल गरिन् । जसले उनलाई एथलेटिक्सको जोखिमपूर्ण विधा अल्ट्रा दौडतर्फ आकर्षित गरायो । ‘त्यो मेरो लागि सबैभन्दा खुशीको दिन थियो । ५० किलोमिटर दौडिएर पूरा गर्छु भन्ने कल्पना पनि गरेकी थिइनँ,’ मिराले स्मरण गरिन्, ‘सफल भएँ । त्यसले मलाई थप हौसला मिल्यो र अल्ट्रामा अघि बढ्ने निधो गरेँ ।’
त्यसपछिकी मीरा आज विश्वसामु छिन् । सन् २०१५ देखि दौड्न थालेकी मीराले अधिकांश दौडमा प्रथम स्थान हासिल गरेकी छन् । फ्रान्समा सन् २०१५ मा भएको प्रतियोगितामा उनी विश्वविजेता बनेकी थिइन् । उनले २०१७ को नेशनल जोग्राफीको एड्भेन्चर अफ दी इयरमा ‘साहसी वर्ष व्यक्ति २०१७‘ को उपाधि हासिल गरिन् । अल्ट्रा म्याराथनले उनको जीवनमा नयाँ मोड त लियो नै, उनको आर्थिक अवस्था पनि सहज भयो । सायद सेना समायोजनमा पर्नुभन्दा राम्रो करियर उनले पाइन् ।
सिपाहीको जागिर नपाएको पीडाले थुप्रै रात निदाउन नसकेकी तिनै मिरा अहिले देशकै गौरव बनेकी छिन् । अल्ट्रा दौडको विश्व च्याम्पियन बनेर अन्तर्राष्ट्रिय जगतमा नेपालको झण्डा फहराएकी छिन् ।
मिराका लागि अल्ट्रा दौडको अन्तर्राष्ट्रिय यात्रा इटालीबाट सुरु भएको थियो । त्यहाँ ५७ किलोमिटरको अल्ट्रा दौड ६ घण्टा ३० मिनेट ३२ सेकेन्डमा पूरा गरेर उनले पहिलो अन्तर्राष्ट्रिय सहभागितालाई नै अविस्मरणीय बनाइन् । हङकङको स्काइ रनिङ एसियन च्याम्पियनसिपअन्तर्गत ५० किलोमिटर अल्ट्रा दौडमा पनि उनी महिलातर्फ च्याम्पियन बनेकी थिइन् । अहिलेसम्म उनी २ वटा राष्ट्रिय र २० वटा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएकी छिन् । सहभागी भएकामध्ये विश्व रेकर्डसहित उनी धेरैमा प्रथम भएकी छिन् । यो सफलता उनले यत्तिकै पाएकी भने होइनन् । निरन्तरको अभ्यास, केही मनकारीहरूको सहयोग, दुःखका दिनमा उत्साह बढाउन पाएका प्रशिक्षक र उनको जुझारुपनाले नै सफल हुन मद्दत ग¥यो ।
मीरा अहिले पनि दौडिरहेकी छन् । उनी जति दौडिए पनि कहिल्यै थाक्दिनन् । यसका साथै उनी आफूजस्तै पृष्ठभूमि भएका बालिकाहरूलाई म्याराथन सिकाउने अभियानमा पनि लागिरहेकी छन् । आफ्नो बाल्यकाल सम्झिँदै मिरा भन्छिन्, ‘गाउँमा केटीहरूका लागि कुनै अवसर थिएन । पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौँ । त्यसैले मैले जस्तो अरुले भोग्न नपरोस् भनेर बालिकाहरूलाई म्याराथन सिकाउने अभियानमा छु ।’
परिवारले कुनै काममा कहिल्यै अवरोध नगरेकै कारण सफलता मिलेको मिराको बुझाइ छ । उनी भन्छिन्, ‘हिजो माओवादीमा जाँदा पनि परिवारको साथ थियो । अहिले दौडमा पनि परिवारले सघाएकै छ । घरबाट मलाई जे गरे पनि हौसला मिलेको छ ।’ कराँते गुरु ध्रुव विक्रम मल्लसँग भेट हुनु आफ्नो जीवनको ‘टर्निङ प्वाइन्ट’ भएको उनी बताउँछिन् । अरूको पनि धेरै सहयोग पाएको उनी सम्झन्छिन् । ‘त्यसपछि रिचर्ड सर, टोनी, नेपालका सिनियर दाइहरू, अन्य विदेशी सबैले हौसला दिनुभयो, जसका कारण मलाई अघि बढ्न थप मद्दत मिल्यो । मेहनत गर्दै गएँ, सफलता पनि मिल्दै गयो । अब त आदतजस्तो भइसक्यो,’ उनी भन्छिन् ।
मिराको नजरमा अल्ट्रा दौडमा नेपालको सम्भावना उज्ज्वल छ । ‘म मात्र होइन । लामो दुरीमा नेपालीहरू एकदम उत्कृष्ट छन् । विदेशमा भाग लिँदा नेपालीले शीर्षस्थान ल्याइरहेका छन्,’ उनको अनुभव छ, ‘अल्ट्रा दौड आयोजनाका लागि पनि नेपाल उपयुक्त स्थान हो । यस्तो दौड गर्न सके विश्वभरका खेलाडी नेपाल आउँछन् । त्यसले नेपालको पर्यटन व्यवसाय र अर्थतन्त्रमा पनि फाइदा पुग्न सक्छ । यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।’
नेपाली दिदीबहिनीहरूले खेलकुदमा धेरै भन्दा धेरै भाग लिएको हेर्ने उनको ठूलो धोको छ । भन्छिन्, ‘हाम्रा दिदी–बहिनीले खेलकुदमा धेरै भन्दा धेरै भाग लिएको हेर्न चाहन्छु । हामी महिला पनि पुरुषभन्दा कम छैनौँ भनेर प्रमाणित गरेको हेर्न चाहन्छु ।’
खेल क्षेत्रमा प्रवेश गर्दै गरेकाहरूलाई जुनसुकै बेला पनि सहयोग आफू तत्पर रहेको उनी बताउँछिन् । साथै महिलाको हक, अधिकारको लागि जहिले पनि लड्न आफू तयार भएको उनको भनाइ छ । भन्छिन्, ‘महिलाको समान अधिकारका लागि अन्तिम समयसम्मै संघर्ष गर्नेछु । महिलाले पनि आफ्नो क्षमताअनुसार काम गरेको हेर्न चाहन्छु ।’ (सन्दर्भ सामाग्री : ‘यलेलाम’ पुस्तकबाट )




