काठमाडौं, २३ पुस । विश्व बैंकले आउँदो वर्ष विश्व अर्थतन्त्रको पुनरुत्थान हुने अनुमान गरेको छ। तर, उसले नेपालका लागि भने निराशाजनक आँकडा पस्केको छ। विश्व बैंकले बुधबार साँझ जारी गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरू (ग्लोबल इकोनोमिक प्रोस्पेक्टस)सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।
बैंकले सन् २०२१ भरिमा कोभिड १९ विरुद्धको खोप संसारभर वितरण भइसक्ने आकलन गरेको छ। त्यसपछि महामारी अन्त्य भई लगानी प्रवद्र्धन हुने भन्दै बैंकले आगामी वर्ष विश्व अर्थतन्त्र ४ प्रतिशत हाराहारीमा बढ्ने अनुमान सार्वजनिक गरेको छ। तर, सोही प्रतिवेदनले नेपाली अर्थतन्त्रको आकार भने अझै एक वर्षसम्म खासै बढ्न नसक्ने उल्लेख गरेको छ।

उक्त प्रतिवेदनका अनुसार सन् २०२० मा पूर्वी एसियाका चीन, बर्मा र भियतनामले आर्थिक वृद्धिलाई धनात्मक राख्न सके। दक्षिण एसियामा बंगलादेश, भुटान र नेपालले मात्र अर्थतन्त्रलाई पहिलेभन्दा खुम्चनबाट जोगाउन सफल भए। तर, सन् २०२१ मा पूर्वी एसिया र प्रशान्त क्षेत्रको अर्थतन्त्र ७.४ प्रतिशतले बढ्ने आकलन विश्व बैंकले गरेको छ। यही बेला दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र साढे ३ प्रतिशतभन्दा पनि कमै मात्र विस्तार हुने र नेपालले त खासै अर्थतन्त्र बढाउन नसक्ने अनुमान गरिएको छ।
यो अनुमानले भविष्यमा नेपाललाई अधिकांश छिमेकी मुलुकको तुलनामा झनै गरिब बनाउने देखाउँछ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।




