काठमाडौं, ७ पुस । कसैले कसैको मञ्जुरीबेगर यौनसम्बन्धी क्रिया गर्छ भने त्यो बलात्कार हो । यौनजन्य क्रिया पवित्रता साथ गर्नुपर्ने संसारको रीत नै हो । यो पवित्र मार्ग पनि हो । तर बलियाले निर्धालाई मञ्जुरीबिना गरिने यौनजन्य कार्यलाई अक्षम्य अपराध मानिन्छ । संसारमै अति मर्यादित र अति स्वच्छ मनबाट गरिने सहवास वा समागमलाई दुष्टहरूले अपवित्र पारिदिएका छन् ।
सहवास वा समागम दुवै पक्षको हार्दिकतामा हुन्छ । त्यसमा पनि समाजले केही सर्त बन्देज लगाएको छ । राज्यले कानुन नै बनाएको छ । यी सर्त वा मर्यादामा बसेर समागम हुनु नराम्रो हैन तर आपराधिक मनोवृत्ति भएका, दुष्टहरूले यस्तो पवित्र कार्यलाई अपराधमा परिणत गराइदिने गरेका छन् ।
बलात्कार संसारको कुनै पनि कुनामा अक्षम्य अपराधको कोटीमा पर्दछ । कयौँ देशमा त यस्तो अपराध गर्नेलाई मृत्युदण्डको सजायसमेत तोकिएको छ भने कैयौँ देशमा आजीवन वा जन्मकैदको सजाय राखिएको छ ।
यस प्रसङ्गमा सहमति भनेको के हो ? न्याय निरुण गर्न यसको प्रयोग बडो सतर्कताका साथ गर्नुपर्छ । नाबालक जोे शारीरिक, मानसिक तथा कानुनी आधारमा समेत यौनबारेमा अन्जान छ भने उसको सहमतिलाई पनि सहमति मानिँदैन । त्यस्तै शारीरिक मानसिक अपाङ्गता भएको व्यक्तिको हकमा पनि यही नियम लागू हुन्छ । वृद्ध तथा रोगीको सहमति, सामूहिक रूपमा वा धेरै जना मिलेर गरिने यौन क्रियालाई पनि सहमति थियो भन्न पाइँदैन ।

यसैगरी हाडनाताको कुनै पनि सहमतिलाई पनि कानुनले सहमति मान्दैन । यसकारण बलात्कार मुद्दामा बडो होसियारीपूर्वक हेरेर मात्र यकिन गर्नु पर्ने हुन्छ । यसमा लैङ्गिक दृष्टिले मात्र हेरेर न्याय गर्न मिल्दैन । यो गोरखापत्रमा छ ।




