काठमाडौं, ४ पुस । विश्वभर फैलिएको कोरोना महामारीको प्रत्यक्ष असर वाणिज्य बैंकमा पर्दा गत वर्षको तुलनामा लाभांश खुम्चिएको छ । यसबाट अन्य क्षेत्रभन्दा बैंकको सेयरमा नाफा हुने भन्दै लाभांशको लोभमा दोस्रो बजारमा सेयर खरिद गर्नेहरूमा निराशा छाएको छ ।
वाणिज्य बैंकहरूले प्रदान गर्ने लाभांश गत वर्षभन्दा निकै कम भएपछि नाफा बढी हुने र लाभांश पनि बढी पाइने आशा गरेका सेयर खरिदकर्तामा निराशा छाएको हो ।
आर्थिक वर्ष २०७६-७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने २० वटा बैंकको लाभांश गत वर्षभन्दा कम भएको छ । अहिलेसम्म घोषित लाभांशमध्ये एनआइसी एसिया र हिमालयनले सबैभन्दा बढी अर्थात् २० प्रतिशत लाभांश घोषणा गरेका छन् । यी बैंकले गत वर्ष क्रमशः २१ दशमलव ५ र २२ प्रतिशत लाभांश दिएका थिए ।
आर्थिक वर्ष २०७६-७७ को लाभांश घोषणा गरेकामध्ये सेन्चुरी कमर्सियल बैंकले सबैभन्दा कम ७।५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसले गत वर्ष ६.७५ प्रतिशत लाभांश दिएको थियो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वाणिज्य बैंकमध्ये ६ बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।

बैंकहरूले पुस मसान्तसम्म वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने र २१ दिनपूर्व नै वार्षिक साधारण सभासम्बन्धी जानकारी दिइसक्नुपर्ने प्रावधान रहेको छ । लाभांश घोषणा गर्न बाँकी बैंकहरूमा नबिल, एनएमबी, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र सिभिल बैंक रहेका छन् । यो खबर राजधानी दैनिकमा छ ।




