काठमाडौं, २ पुस । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लागू गरेको जोर–बिजोर नियम हटेको छैन। त्यसअनुरूप जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै गुडाउन पाइन्छ। तर, सडकमा चाप हेर्ने हो भने नियम मानेजस्तो देखिँदैन।
अन्य क्षेत्र सामान्य अवस्थामा चलिरहेका बेला सवारीमा मात्रै जोरबिजोर नियम प्रभावकारी नभएको सर्वसाधारणको गुनासो छ। उनीहरूको माग छ– यो नियम कि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्यो, होइन भने सबै चल्न दिनुपर्छ।

नियमनकारी निकाय ट्राफिक प्रहरीले यो नियम प्रभावकारी रूपमा कार्यान्वयन गराउन सकेको देखिँदैन। जता मन लाग्यो उतै चेक प्वाइन्ट राखेर जोरबिजोर सवारी जाँच गरिरहेको सडकमा देखिन्छ। ‘कि त सबै खुल्नुपर्यो। होइन भने ट्राफिकले जहाँ पायो त्यहीँ चेक प्वाइन्ट राखेर चालकलाई दुःख दिनुभएन’, बानेश्वरमा भेटिएका बालाजुका शोभाकर पौडेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सरकार नियम बनाउने र सडकमा त्यो नियमको खिल्ली उडाइन्छ भने दोषी को ?’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैकिमा छ ।




