काठमाडौँ, ३० मंसिर । तराईका चरा पहाड उक्लन थालेका छन् । झण्डै एक दर्जनभन्दा बढी नयाँ चरा काठमाडौँमा देखिएको चराविद्ले जनाएका हुन् ।
जाडो बढ्दै गएको यो समयमा काठमाडौँ उपत्यकाको मनोहरा क्षेत्रमा तराईका चराको चाप बढ्दै गएको चराविद् डा. हेमसागर बरालले बताउनुभयो । मनोहरा खोलालाई अहिले मिनी कोसीटप्पु भनेर चराविद्समेत त्यहाँ धाउन थालेका छन् ।
उहाँका अनुसार समुद्री सतहदेखि तीन सय मिटरभन्दा तलै पाइने चस्मे भारद्वाज चरा एक हजार मिटरको उकालो तय गर्दै दुई दिनअघि मात्र मनोहरा खोलामा आएको छ ।
“गर्मीको मौसममा आएको भए पनि थोरै चिसो खान आयो भन्नु तर जाडोको समयमा काठमाडौँमा यसरी चस्मे भारद्वाज आउनु अचम्म नै हो”, डा। बरालले भन्नुभयो ।

यो मात्र हैन केही दिनअघि तराईकै नरकट घाँसे चरी मनोहरा घुम्न आइपुगेको थियो । तराईमा पाइने नरकटका घाँसमा रमाउने त्यो चरा काठमाडौँ आउनुले पनि चरा उकालो चढ्न थालेको पुष्टि हुन्छ । यो खबर आजको गोरखापत्रमा छ




