काठमाडौं, २९ मंसिर । राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २ सय ८७ रोपनी पाँच आना जग्गा लालमोहर लागेको थियो।
पछि हालसाबिक गर्दा २ सय ९९ रोपनी ९ आना देखियो। त्यही जग्गा नै ललिता निवासमा पर्छ। उक्त जग्गा भीमशमशेरका छोरा हिरण्यशमशेर हुँदै नाति एवं प्रजातन्त्रवादी नेता सुवर्णशमशेरमा हस्तान्तरण भएको थियो। सुवर्णशमशेरले २०१७ असार २९ गते पत्नी श्वेतप्रभालाई ५८, छोरा कनकशमशेर, कञ्चनशमशेर र रुक्मशमशेरलाई ५७ रोपनीका दरले बकसपत्र गरिदिए।
सरकारले २०१८ सालमा जग्गा प्राप्ति ऐन जारी गर्दै मुआब्जा दिएर ललिता निवाससहित ६ वटा दरबार अधिग्रहण गरेको थियो। त्यसमा ललिता निवासको २ सय ८४ रोपनी १४ आना परेको थियो। १४ रोपनी ११ आना सुवर्णशमशेर र उनको परिवारका नाममा कायम भएको थियो।
पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित ललिता निवास जग्गा छानबिन समितिका अनुसार ललिता निवाससहित हरिहर भवन ललितपुर, सीता भवन नक्साल, लक्ष्मी निवास महाराजगन्ज, बबरमहल कुरियागाउँ, महावीर भवन नक्साल जग्गा प्राप्ति ऐन जारी गर्दै सरकारले अधिग्रहण गरेको हो।

ललिता निवासको जग्गामा प्रधानमन्त्री निवास, सभामुख निवास, प्रधानन्यायाधीश निवास र राष्ट्र बैंक कार्यालय स्थापना गरियो। ६० रोपनी जग्गा राष्ट्र बैंकलाई दिइयो। बाँकी २ सय १२ रोपनी जग्गा समरजंग कम्पनीका नाममा दर्ता गरियो। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




