गोरखा, १८ मंसिर । छोराको कुटाइबाट सिरानचोक गाउँपालिका–८ धन्सारका ७० वर्षीय तुलाराम ढकालको ज्यान गएको छ । धान झाँट्ने विषयमा बाबु छोराबीच विवाद हुँदा तुलारामको ज्यान गएको प्रहरीले बताए।

बुधबार धान झाँट्दै गर्दा ४० वर्षीय भुवन ढकाल र बाबुबीच विवाद भएको थियो । विवादपछि भुवनले तुलारामको छातीमा हातले र लाठीले खुट्टामा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले जनाएको छ ।
छोराको कुटाइबाट घाइते भएका तुलारामलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौबारी लगिएको थियो । बुधबार साँझ ७ः१० बजे चिकित्सकले तुलारामलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।उनले भने, ‘अनुसन्धान पछि ज्यान सम्बन्धी महल अन्तर्गत मुद्दा दर्ता गर्ने तयारीमा छौं ।’ । मृतकको शव पोस्टमार्टमको लागि तयारी भइरहेको पनि जानकारी दिए ।




