काठमाडौं,१४ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विग्रह निम्त्याउने गरी ल्याइएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई सचिवालय बैठकबाट खारेज गर्न आग्रह गर्नुभएको छ ।
पार्टी सचिवालयको शनिबारको बैठकमा आफ्नो ३८ पृष्ठको ५३ बुँदे राजनीतिक प्रस्ताव पेश गर्नुहुँदै अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । उहाँले प्रस्तावमा भन्नुभएको छ, “मैले मेराविरुद्ध ‘प्रचण्ड’ ले लगाउनु भएका आरोपहरुको खण्डन गरेको छु, अस्वीकार गरेको छु । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, पार्टीमा विग्रह निम्त्याउने प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ ।”

पार्टीलाई पुनः भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काउन अध्यक्ष ओलीले आग्रह गर्नुभएको छ । स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको भन्नुहुँदै उहाँले थप्नुभएको छ, “पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको अवस्थामा फर्काऔँ । म आश्वस्त पार्न चाहन्छु– म विचारमा, सङ्गठनमा, आचरणमा र आदर्शमा कुनै विचलन आउन दिन्नँ ।” पार्टीका सबै नेतालाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले जनाउनुभएको छ । यो खबर गोरखपत्रमा छ ।




