काठमाडौं, १० मंसिर । कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख नरेशमान शाक्यले भन्नुभयो, “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा छ । पुस पहिलो सातादेखि आयोजनाको सुरुङ खन्ने काम सुरु गरिनेछ ।” मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९ का कारण पूरा हुन नसकेको उहाँले स्पष्ट गर्नुभयो । सुरुङमार्गको मुखमा राखिने स्टिलको फ्रेम अहिले निर्माण भइरहेको बताउँदै आयोजना प्रमुख शाक्यले भन्नुभयो, “सुरुङ खन्न अब कुनै तयारी बाँकी छैन । फ्रेम निर्माण गरिरहेको बुटबलस्थित कम्पनीका कामदारमा कोभिड–१९ को सङ्क्रमण देखिँदा कम्पनी केही समय बन्द भएकाले समयमा फ्रेम निर्माण हुन सकेन ।
पहिलो फ्रेम हाल्नुपर्छ, फ्रेम हालेको ८र१० दिनपछि सुरुङ खन्ने काम सुरु हुन्छ ।’’ प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको मुलुककै पहिलो आधुनिक उक्त सुरुङमार्ग निर्माणका लागि अहिले आवश्यक जनशक्ति र उपकरण पूरा भइसकेकाले अब आयोजनाको काम बिनाअवरोध अगाडि बढ्ने र निर्धारित समयमै काम सम्पन्न हुने लक्ष्य लिइएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले गएको कात्तिक ४ गते उक्त सुरुङमार्ग शिलान्यास गर्नुभएको थियो । आयोजना प्रमुख शाक्यका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेका छन् । जापानबाट थप १५ जना प्राविधिक आउने तयारीमा छन् ।

सुरुङमार्ग निर्माण गर्न नौ सय टन विस्फोटक पदार्थ आवश्यक रहेकोमा निर्माण स्थलको भण्डारण क्षमताअनुसार अहिले ६० टन आयात गरिएको छ । भण्डारण गरिएको सकिनेबित्तिकै पुनः आयात गरिनेछ । नौ सय टनमध्ये तीन सय टन भारतबाट आयातका लागि नेपाली सेनाले यसअघि नै आयोजनालाई अनुमति दिइसकेको छ । यो खबर आजको गोरखापत्रमा छ ।




