काठमाडौं, २८ कात्तिक। नेपाली राष्ट्रिय फुटबल टोली अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पहिलो हाफमा १-० गोलले पछि परेको थियो । दोस्रो हाफमा बंगलादेशले थप एक गोल गर्दा नेपाल पराजित हुन पुग्यो ।

पहिलो हाफको १० औं मिनेटमा मोहमद नाबिबले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २-० को जित दिलाए ।
आजको खेलमा नेपाली युवा डिफेन्डर विकाश खवासले बंगलादेशविरुद्ध डेब्यू गरे । त्यस्तै एरिक विष्टले विक्रम लामाको स्थानमा खेलको ४२ औं मिनेटमा डेब्यू गरे ।
विकासले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै डेब्यू गर्ने अवसर पाएका हुन् । बंगलादेश र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ ।




