काठमाडौं, २४ कात्तिक । नेकपा विवादबीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई सहकार्यका लागि भावी पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमा समर्थन गर्ने विकल्पसहितको प्रस्ताव गरेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बढ्दो दूरीले पार्टीमा संकट चुलिँदै गएका वेला नेकपाको समीकरणमा शक्ति सन्तुलनको हिसाबले निर्णायक ‘पोजिसन’मा रहेका नेपाललाई प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव अगाडि सारेका हुन् । स्थायी कमिटीको निर्णय कार्यान्वयनलाई लिएर अहिले भने नेकपामा प्रचण्ड–नेपाल समीकरण छ ।
आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले एकता महाधिवेशनमा अध्यक्ष वा आगामी चुनावपछि प्रधानमन्त्री बनाउन सकिने विकल्पसहित प्रस्ताब गरेका हुन् । करिब साढे दुई घन्टाको छलफलमा प्रधानमन्त्री ओलीले आफूले विगतदेखि नै त्यस्तो प्रस्ताव अघि सारेको भन्दै नेपाललाई आश्वस्त पार्ने कोसिस गरेका थिए । कात्तिकमा मात्रै प्रधानमन्त्री ओलीले नेपाललाई भेटेको यो तेस्रोपटक हो । हरेक भेटमा जस्तै नेपालले व्यक्तिवाद त्यागेपछि मात्रै सहमति र एकताको विकल्प खुल्ने बताएका छन् ।
ओलीले एक्लाएक्लै छलफलका लागि बोलाए पनि वरिष्ठ नेता नेपाल आफूनिकट नेताहरू सुरेन्द्र पाण्डे, भीमबहादुर रावल र रघुजी पन्तसहित बालुवाटार पुगेका थिए । एक्लाएक्लैभन्दा समूहसहित बस्दा छलफलमा सहजता हुने भन्दै नेपालले निकट नेताहरूलाई पनि संवादका लागि बोलाएको उनीनिकट एक नेताले बताए ।
प्रधानमन्त्री ओलीले संवादका लागि बोलाएको जानकारी कार्यकारी अध्यक्ष प्रचण्डलाई दिएर नेपाल आफूनिकट नेतासहित बालुवाटार पुगेका थिए । शनिबार पाँच नेताले बैठक बोलाउन आग्रह गर्दै पत्र दिएको अर्को दिन ओलीले नेपालसँग संवाद गरेका हुन् ।
‘मैले तपाईंलाई पार्टी अध्यक्ष बन्ने हो भने महाधिवेशन पर्खिनुस्, कि चुनावपछि प्रधानमन्त्री बन्नुस् पहिल्यैदेखि भन्दै आएको छु । यो विकल्पमा खुला छलफल गरौँ,’ नेपाललाई प्रधानमन्त्री ओलीको प्रस्ताव उद्धृत गर्दै एक नेताले नयाँ पत्रिकासँग भने, ‘अहिलेलाई मिलेर एकताका साथ अघि बढौँ, पार्टीभित्र देखिएका चुनौती सम्बोधन गर्दै अघि बढौँ ।’
पार्टी विवादका कारण १५ कात्तिकमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक एक महिना पछाडि धकेलिएपछि चैतमा गर्ने भनिएको नेकपाको एकता महाधिवेशन अनिश्चित बनेको छ ।
नेपालले भने आफूलाई सर्वेसर्वा ठान्ने, विधि र पद्धतिलाई चुनौती दिँदै अघि बढ्ने प्रधानमन्त्री ओलीकै कार्यशैलीका कारण समस्या उत्पन्न भएको भन्दै त्यसमा तत्काल सुधार गर्न विगतकै शैलीमा ध्यानाकर्षण गराएका थिए । ‘तपाईं एउटा कुरा भन्नुहुन्छ, काम अर्कै गर्नुहुन्छ ।

मैले सबै जानेको छु, सबै बुझेको छु । मैले नै पार्टी चलाएको छु जस्तो आफू सर्वेसर्वा ठान्नुहुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी ती नेताले भने, ‘यो पार्टी एकजनाले बनाएको होइन, तपाईं–हामी सबै मिलेर, लाखौँ कार्यकर्ताको योगदानबाट बनेको हो भन्ने ठान्नुस् । त्यसैले पार्टीलाई विधिसम्मत ढंगले सामूहिक नेतृत्व प्रणालीका आधारमा सञ्चालन गर्नेबित्तिकै धेरै समस्या समाधान हुन्छ । व्यक्तिवाद त्याग्नुस्, सहमति र एकताका साथ अगाडि बढ्न सकिन्छ ।’ नेपालको त्यस्तो जवाफमा ओली मौन बसेका थिए । यो खबर आजको नयाँपत्रिकामा छ ।




