काठमाडौँ, २४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बताउनुभएको छ । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल गर्दै उहाँले पार्टीबाटै सरकारको आलोचना हुनु दुःखद भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताउनुुभयो ।
पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि प्रम ओलीले नेपाल लगायतका नेतासित छलफल अघि बढाउनुभएको हो । बालुवाटारको छलफलमा सचिवालय सदस्य नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तको सहभागिता थियो ।
प्रधानमन्त्रीसितको छलफलमा सहभागी स्थायी कमिटी सदस्य पाण्डेले सरकारलाई असहयोग गर्ने शैली सच्याउनुपर्नेमा प्रम ओलीले जोड दिनुभएको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले पार्टीमा गुटगत राजनीति सुरु भएको र केही नेताले सरकारलाई असफल पार्ने षड्यन्त्र गरेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । छलफलमा नेताले प्रधानमन्त्री ओलीसँग आवश्यक छलफल गरी पार्टीको विवाद समाधान गर्न पहल गर्न आग्रह गर्नुभयो । स्थायी कमिटी सदस्य पाण्डेले पार्टीमा देखिएको पछिल्लो विवाद कसरी समाधान गर्ने त्यसका बारेमा अध्यक्ष ओलीसँग छलफल भएको बताउनुभयो ।

‘‘तपाई पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ, तपाईंले पहल गरेर ठोस रूपमा पार्टीभित्र देखिएका विवाद समाधान गर्न हामीले आग्रह गरेका छाँैं’’, उहाँले भन्नुभयो, ‘‘पार्टी कमिटी बैठक बोलाएर ठोस रूपमा समाधानको प्रस्ताव ल्याएर विवाद समाधान गरी अगाडि बढ्नुस् भनेका छौंँ ।’’ जबाफमा प्रधानमन्त्री ओलीले आवश्यक छलफल गरेर बैठक बोलाउने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।




