काठमाडौं, १९ कात्तिक । कोरोनाको लक्षणसहितका बिरामी र सिकिस्त हुनेहरूको संख्या दिनदिनै बढिरहेको छ । तर, अस्पतालहरूमा बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजनको भने अभाव हुँदै छ । देशभरका नौ अस्पतालमा मात्रै अक्सिजन प्लान्ट छ ।
चिकित्सकहरूका अनुसार अहिले कोरोना संक्रमितहरूलाई आइसियू, भेन्टिलेटरभन्दा पनि मेडिकल अक्सिजनको आवश्यकता धेरै छ । त्यसको अभाव हुन नदिन अस्पतालमा अक्सिजन प्लान्टको आवश्यकता महसुस गरिएको छ । तर, सरकारले नयाँ प्लान्ट थप्नु त परको कुरा भएका प्लान्टको पनि मर्मतसम्भार गरेको छैन । वीर र पाटन अस्पतालको प्लान्ट बिग्रेर काम नलाग्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले उपत्यकाभित्र टेकु अस्पताल, वीरेन्द्र सैनिक, अल्का, ग्रान्डी, नर्भिक र शिक्षण अस्पतालमा मात्रै अक्सिजन प्लान्ट छ । उपत्यकाबाहिर धुलिखेल अस्पताल, चितवन मेडिकल कलेज र चुरेहिल अस्पताल अस्पतालमा प्लान्ट रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्ता प्लान्टबाट पाइपमार्फत बिरामीको शय्यासम्मै अक्सिजन आपूर्ति गरिएको हुन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरका अस्पतालमा दुई हजार आठ सय ४४ सिलिन्डर छन् ।
चिकित्सकका अनुसार कोरोना संक्रमितलाई भाइरसले मुख्य गरी फोक्सोमा निमोनिया गराउने र सास लिने क्षमतामा ह्रास ल्याउँछ, जसले गर्दा अक्सिजनको बढी आवश्यकता पर्छ । ‘सामान्यतया अरू बिरामीको रगतमा अक्सिजन स्याचुरेसन ९० पुग्दा अक्सिजन दिने गरिन्छ भने कोरोनाका बिरामीमा ९५ तिर पुगेपछि दिने गरिन्छ,’ टेकु अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले भने । उनका अनुसार एक संक्रमितलाई प्रतिमिनेट १५ देखि ६० लिटरसम्म अक्सिजन दिनुपर्छ । कोरोना संक्रमितलाई अब सिलिन्डरको माध्यमबाट अक्सिजन दिएर पुर्याउन नसकिने भन्दै टेकु अस्पतालले केही महिनाअघि लिक्विड प्लान्ट जडान गरेको छ ।

कोरोना संक्रमणबाट हुने मृत्युलाई कम गराउन अब अक्सिजन जेनेरेटर प्लान्ट वा लिक्विड अक्सिजन प्लान्ट अनिवार्य चाहिने चिकित्सकहरू बताउँछन् । जेनेरेटर प्लान्टले दिनमा २५ वटासम्म सिलिन्डर भर्न सकिन्छ । तर, एक सयदेखि पाँच सयसम्म सिलिन्डर खपत हुने अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट चाहिन्छ । यसले एकैपटकमा ५० बिरामीलाई अक्सिजन दिन सक्छ । यो खबर आजको नयाँपत्रिकामा छ ।




