काठमाडौं, १६ कात्तिक । सत्तारूढ नेकपा स्थायी समिति बैठकले भदौ २६ गते पार्टी पुरानो विवादमा नफर्कने घोषणा गरेको थियो। अन्तरविरोधपूर्ण विवाद नहुने सुनिश्चित गर्ने आन्तरिक सर्कुलरसमेत गरेको थियो।
तर, त्यसको एक महिना नभई दुई अध्यक्षबीच पुरानै जुहारी सुरु भएको छ। केही दिनयता त्यसले उत्कर्ष रूप लिँदै गएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुराकानी गराउनै पनि दोस्रो तहका मध्यस्थकर्ता नेताले मिहिनेत गर्नुपर्ने अवस्था सिर्जना भएको छ। दोस्रो तहका नेताहरूको तीन दिन यताको दौडधुपपछि शनिबार प्रधानमन्त्री ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता त भयो तर विवाद कायमै छ।

राजदूत नियुक्ति, रिक्त मन्त्री नियुक्ति, भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्ता, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध राखिएको अविश्वास प्रस्ताव पछिको राजनीति, पर्सामा जिल्ला सदस्य महेश चौरसियाको हत्या प्रकरणलगायत विषयमा दुई अध्यक्षको बुझाइमै मतभिन्नता छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




